• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

रिहा गर्न आदेश दिएपछि मध्यराति अदालत परिसरबाटै विप्लवका ९ कार्यकर्ता पुनः पक्राउ


जेठ ३१, पोखरा । नेत्रविक्रम चन्द विप्लव नेकपाका ९ जना नेता-कार्यकर्ता मध्यरातमा पोखराबाट पक्राउ परेका छन् ।

प्रहरीले गएराति करिब १२ बजेतिर अदालत परिसरभित्रैबाट पक्राउ गरेकाे जनाएकाे छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ बाट प्रहरीले पक्राउ गरेका १८ जनामध्ये ९ जनालाई राज्यविरुद्धको कसुरमा अदालतमा मुद्दा चलाइएकाे थियाे । उनीहरुलाई बिहीबार उच्च अदालत, पाेखराले थुनामुक्त गर्न आदेश दियाे । तर प्रहरीले भने उनीहरुलाई अदालतपरिसरबाटै पुन: पक्राउ गरेकाे हाे ।
अदालतले थुनामुक्त गर्न आदेश दिए पनि उनीहरु पुन: पक्राउ पर्ने भएपछि अदालत परिसरभित्रैको बार एसोसियनको भवनमा आश्रय लिएर बसेका थिए । तर मध्यराति प्रहरीले बार भवनको ढोका खोलेर उनीहरुलाई पक्राउ गरेको जनाइएकाे छ ।

पक्राउ परेका उनीहरुलाइ रिहा गर्न परेकाे बन्दी प्रतक्ष्यीकरणकाे रिटमाथि बिहीबार सुनुवाई गर्दै अदालतले छाड्न दिएकाे थियाे ।

गैरकानूनी हिरासतमा नराख्न भनी अदालतले जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । तर प्रहरीले भने उनीहरुलाई नै मध्यराति पुन: नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार