• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

पूर्वमन्त्री पौडेलको निधन : कोदालोले खन्दा खन्दै ढलेर मुखबाट फिँज निकालेका थिए


जेठ ३१, चितवन ।  हृदयघातका कारण आज विहान असमायीक निधन भएका पुर्व शिक्षामन्त्री एवंम नेकपा नेता धनिराम (डिआर) पौडेलको अन्त्यष्टि गरीएको छ । चितवनको माडी नगरपालिका ५ स्थित मगोई खोलामा शुक्रबार अपरान्ह अन्त्यष्टी गरिएको हो ।

यसअघि नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरीराज मणी पोख्रेल, नेकपा नेताहरु बामदेव गौतम, प्रवक्ता नारायकाजी श्रेष्ठ ‘प्रकाश’, देव गुरुङ, अमिक शेरचन लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

कोदालोले खन्दा खन्दै ढले

शुक्रबार विहान पूर्वमन्त्री शिक्षामन्त्री धनिराम पौडेल निर्माणाधीन घरको अगाडि छरिएका गिट्टी सोर्हर्दै थिए । दिउँसो चर्को घाममा काम गर्न नसकिने भएकाले विहानै चेक हाफ पाइन्ट र कालो टिर्सट लगाएर गिट्टी उठाउन जाँगर चलाउँदै थिए उनी । गिट्टी सोहोरेर उनी माडी नगरपालिका कर्मचारीसमेत रहेका छिमेकी टेकनाथ पौडेलको घरमा पुगे ।

पसिनाले निथ्रुक्क भिजेका पौडेलले टेकनाथसँग घर नजिकको सडक विस्तारका विषयमा करीव १० मिनेट छलफल गरे । उनीहरु पहिल्यैदेखिका छिमेकी थिए । दुबै पहाड घर स्याङ्जा हो । सहपाठी जस्ता थिए टेकनाथ र धनिराम । दुबैको पूरानो घर बाटो छेउमा रहेकोले सडक विस्तार गर्ने क्रममा भत्किने अवस्था थियो । घर अगाडि जम्मा ४ फिटको मात्रै बाटो छ । सोही बारेमा छलफल गर्ने उनीहरुका वीचमा पूर्व निर्धारीत कार्यक्रम थियो ।

केही बेर छलफल गरेपछि धनिराम नयाँ बन्दै गरेको घरतिरै लागे । पानीको पाइपका गाड्ने भन्दै दुई कोदाली के हानेका थिए । उनी ढले । मुखबाट फिँज आउन थाल्यो । धनिरामको यो अवस्था देख्ने मान्छे छिमेकी टेकनाथ नै थिए । उनले हत्तपत्त ब्लाङ्केट निकालेर वरपरका अन्य मान्छेहरुलाई पनि बोलाए । डोली जस्तो बनाई अस्पतालतर्फ लगे ।

केहीबेरमा माडी नगरपालिकाको गाडी आयो । धनिरामको घरबाट माडीको बघौडा अस्पताल जम्मा ५ सयमिटर मात्रै पर थियो । तर अपसोच अस्पताल लैजाने वित्तिकै अस्पतालले उनलाई मृत घोषणा गर्‍यो । घटना सुनाउँदै टेकनाथले अनलाइनखबरसँग भने, धनिरामको अन्तिम बोली नै मसँग भयो, यो सबै मैंले मेरै आँखाले देखेको छु, यो सपना हो कि विपना हो पत्तो छैन ।’

उनले यो घटना कुनै चलचित्रको कहानी जस्तो भएको बताए । घरको ढलान र चर्चित नेता स्वर्गीय दिवाकर भुसालको जीवनमा आधारीत पुस्तक प्रकाशनको तयारीका धनिराम जुटिरहेका थिए । हिजोमात्रैं उनी भरतपुर आएर फर्किएका थिए । भरतपुरमा कलाकार दिनेश्वर महतोले दिवाकर भुसालको शालिक बनाइरहेका छन् । शालिकको निरीक्षणका लागि भन्दै उनी भरतपुर आएका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार