• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

बुटवल उपमहानगरले घर भत्काइदिएपछि ४० डिग्रीको गर्मीमा सुकुम्बासीहरु


शिव डुम्रे / जेठ ३२, बुटवल । बुटवलको ३९/४० डिग्रीको चर्को घाम, दिउँसोको समयमा घामकै कारण सडकहरु प्राय शुन्य देखिन्छ । सडकमा निस्कन त के, घरबाहिरसमेत निस्कन नसकिने चर्को घाममा बुटवल उपमहानगरपालिका–१ स्थित जामे मस्जिद नजिककी ९५ वर्षीय करिदरुन निशासहित १६ परिवारका सदस्यहरु अहिले सडक अनसनरत छन् ।

 

चुनावताका लामो समयदेखि आफूहरुकाे जग्गाको लालपूर्जा नपाएको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका बुटवलका मेयर शिवराज सुबेदीकै निर्देशनमा आफ्ना घरटहरा भत्केलान भन्ने उनीहरुलाई लागेको थिएन । तर, त्यो एक प्रकारको भ्रम मात्रै थियो ।

 

श्री ३ बडामहारानीको जग्गामा विगत ४८ वर्षदेखि बस्दै आएका बासिन्दालाई बुटवल उपमहानगरपालिकाले डोजर लगाएर हटाएपछि ठूलो संख्यामा मुस्लिम परिवार घरविहीन हुन पुगेका छ्न् । ‘वैकल्पिक ब्यवस्थापन बिना हामी छोड्दैनौ’ भन्दै पीडित १६ घरधुरीले अहिले संघर्ष समिति बुटवल–१ गठन गरी विरोध तथा अनसन कार्यक्रम सुरु गरेका छन् ।

 

विहीबार एकाएक नगरपालिकाले डोजर लगाएर घरहरु भत्काएपछि शनिबारदेखि उनीहरु अनसन बस्न थालेका हुन् । प्रहरी, नगरपालिकाका सुरक्षाकर्मी, कर्मचारी र आफैले भोट हालेका जनप्रतिनिधिकै उपस्थिथिमा घरहरु भत्काइएको भन्दै पीडित हरि बिश्वकर्माले भने ‘चुनावका बेला भोट माग्न आउँदा लालपूर्जा दिन्छौ भन्ने, अहिले घर भत्काइदिने ? हामी अनसन बसेर मर्छौ तर, कही जान्नौं ।’

 

 

२ कठ्ठाभन्दा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका उनीहरुको भनाइ छ । उक्त जग्गा राणाहरुको भएपनि उनीहरुले छोडेपछि जनताले ४८ बर्षदेखि भोगचलन गर्दै आएका थिए । उक्त जग्गाबारे अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । तुलसीपुर उच्च अदालत, बुटवलमा विचाराधीन मुद्दाको पेशी असार ९ गतेका लागि तोकिएको छ ।

 

विचराधीन अवस्थामा रहेको मुद्दामा हस्तक्षेप गर्नु नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिर मानिन्छ । बर्षात् सुरु हुने समयमा आफूहरुलाई घरविहीन बनाएर नगरपालिकाले अलपत्र पारेको पीडितहरुको दुखेसो छ । ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका मान्छे बस्दै आएको उक्त जग्गाको लालपूर्जा दिन भन्दै ती घरपरिवारले पटक–पटक माग गरेका थिए ।

 

उपमहानगरले गत बैशाख २५ गते ३५ दिने सूचना टाँस गरी जग्गा खाली गर्न भनेपछि उनीहरुले वर्षौंदेखि बसोबास गरेका आधारमा लालपूर्जा पाउनुपर्ने माग गरेका थिए । यसैबीच उनीहरुलाई राजपा नेपाल, समाजबादी पार्टी नेपाल लगायतले सो कार्यको बिरोध गर्दै तत्काल बैकल्पिक बसाईको ब्यवस्थापन र क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार