• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

छोरी जन्मिए खातामा १ हजार र २० वर्षसम्म मासिक ५ सय भत्ता दिने कर्णाली सरकारको घोषणा


असार २, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले छोरी जन्मिए उसको लालन पालन र शिक्षाका लागि २० वर्षसम्म मासिक ५ सय उपलब्ध गराउने घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतवार प्रदेश सभामा पेश गरेको बजेटमा छोरीको लालनपालन र शिक्षा दिक्षाको लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली १ हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना ५ सयका दरले पैसा जम्मा गरिदिने बताएका हुन् ।

छोरी २० बर्षको उमेरसम्म पुग्दा मासिक ५ सयका दरले बैंककमा पैसा जम्मा हुने र २० बर्षपछि एकमुष्ट उनैले पैसा निकाल्न सकिने कार्यक्रम भएको बुझिएको छ ।
बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री ज्वालाले भने, “छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु। यस कार्यका लागि रु. ७ करोड बजेट छुट्‍याएको छु,’

आर्थिक वर्ष २०७६/०७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको हो । बजेटमा कूल विनियोजनमध्ये चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्ट्याइएको छ ।

प्रदेशमा खानेपानीका लागि १ अर्ब ३८ करोड ३५ लाख बजेट छुट्याइएको छ । यसका अलावा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत विद्युत् सुविधा नपुगेका गाउँ बस्तीमा विद्युत् सेवा पुर्‍याउन ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा पनि प्राथमिकताका साथ बजेट छुट्ट्याइएको छ ।

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार