• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङको शान्तिनगर गाउँपालिकामा अपांग व्यक्तिहरुको लागी क्षमता विकास तालिम सम्पन्न


पुर्ण के.सी./ असार ३, दाङ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ बुटवलको आर्थीक सहयोग, शान्तिनगर गाउँपालिकाको समन्वय र राप्ती बहिरा संघ दाङको आयोजनामा अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि क्षमता विकास कार्यक्रम शान्तिनगर गाउँपालिका चिराघाट दाङमा सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीको विशिष्ट आतिथ्यता र राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले अब अपांगता भएका व्यक्तिहरु आफ्नो अधिकार र कर्व्यका बारेमा सचेत हुँदै आर्थीक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रहरुमा सशक्तीकरण हुन जरुरी भएको कुरामा जोड दिए । उनले अपांगता भएका व्यक्तिहरुलाई सिपसिकाई आत्म निर्भर गराउने र अन्य व्यक्ति सरह उनिहरुले पनि जीविकोपार्जन गर्न पाउन भन्ने उद्देश्य राखेर गाउँपालिकाले अब आउने बजेट तथा कार्यक्रमहरुमा स्वयं अपांगता भएका व्यक्तिहरुको सहभागीता र माग तथा आवश्यकता अनुसारका कार्यक्रमहरु समावेस गर्ने कुरामा पनि जोड दिए ।

५० जनाको सहभागीता रहेको उक्त तालिममा प्रशिक्षक प्रतिमा शर्मा र देवा डाँगीले अपांगता अधिकार, नीतिगत व्यवस्थाहरु, संविधानप्रदत्त अधिकारका कुराहरु, अपांगताको परिभाषा, प्रकार, अपांगता परिचयपत्र बनाउने प्रक्रिया, आवश्यकता र महत्त्व तथा सेवासुविधाहरु लगायतका विषयवस्तुका बारेमा सहजिकरण गरेका थिए ।

उक्त तालिमको समापनमा शान्तिनगर गाउँपालिकाका महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख गुप्ता अधिकारी, सहभागीहरु वसन्ती वली, वीरभान खत्री, ईन्द्रा श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार