• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा भएको वडा कार्यालय आगजनीको शंका त्यहीँका जनप्रतिनिधी र कर्मचारीमाथी !


असार ५, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा मंगलबार भएको आगजनी त्यहीका जिम्मेवार व्यक्तीले गरेको आशंका गरिएको छ । यो वडामा विगत लामो समयदेखि विवाद भएको र पटकपटक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आगजनी भएको थियो ।

स्थानीयहरुका अनुसार यहाँ सबैभन्दा ठुलो वडाको कार्यालय कहाँ राख्ने भन्ने विषयमा विवाद छ । जसले गर्दा पटकपटक यहाँ आक्रमन हुने गरेको थियो ।

त्यस्तै यहाँ जनप्रतिनिधी र कर्मचारीबिचको विवाद पनि यसअघि नै सतहमा देखा परेको थियो । जनप्रतिनिधीबिचमा दुई समुह र कर्मचारीमा पनि त्यस्तै समहु हुँदा वडाको आर्थिक कारोबारमा ठुलो अनियमितता भएको एक स्थानीले लेकाली अनलाइनलाई बताए ।

उनले भने, “यहाँ ठुलो आर्थिक चलखेल भएको छ । जसको प्रमाण मेट्नको लागी आगलागी गरेर नाटकको मन्चन गर्न खोजिएको हो ।” कम्प्यूटर र कागजपत्र जलाउनुको मुख्य उद्देश्य त्यही भएको उनको भनाई छ । यस वडामा ५ जना जनप्रतिनिधी छन् । जसमध्येका केश बहादुर विष्ट जिल्ला समन्वय समितीमा कार्यरत छन् भने अन्य ४ जना वडामै कार्यरत छन् । कर्मचारीमा पनि वडा सचिव सहित ५ जना कार्यरत छन् ।

वडा कार्यालय भित्रकै आर्थिक चलखेलको कारण आगजनि भएको भन्दै धेरैले फेसबुकमा समेत लेखेका छन् । स्थानीय लोकनाथ योगी बैरागी काइलाले घटना गाउँपालिकाका राजनितीज्ञ सहित केही राजनिति भित्रका कर्मचारीले नै गराएको फेसबुकमा लेखेका छन् । घट्नाको जिम्मा पनि तीनै कर्मचारी सहित राजनितीज्ञले लिनुपर्ने उनको तर्क छ ।

अज्ञात समुहद्वारा आगजनी भएको समाचार लेकाली अनलाइनले प्रकाशन गरेको कमेन्टमा भिम्पेकै रबि मगरले पनि लेखेका छन्, “यो सब भ्रष्टाचार गरेकोले लुकाउन खोजेको हो, कर्मचारीको लापरबाही र घुसखोरी नेता भएर हो ।”

रुपेश बाग्चनले लेखेका छन्, “आज्ञात मात्र नभएर अफिसका कर्मचारीलाई नै निगरानि राखनु पर्छ, आफ्नो गल्ती लुकाउनालाई यो घटान घट्ना सक्छ ।”

यता इलाका प्रहरी कार्यालय लुहामले भने घटनामा कुनै पर्चा पम्प्लेट नदेखिएको र जिम्मा पनि कसैले नलिएकोले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । देशका अन्य ठाउँमा यस्ता घटना घटाउने विप्लव नेकपाले उक्त घटनाको जिम्मा लिने गरेको थियो । तर यहाँ भने त्यस्तो देखिएको छैन् ।

यस बिषयमा उक्त वडाका वडा अध्यक्ष राज बहादुर बुढाथोकीले कसैसँग विवाद नभएको र घटना पनि यसले गरेको हो भन्न नसकिने बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले पहिले पनि यस्तो खालको घटना भएको र त्यसबेला पनि पत्ता नलागेको बताए । वडा कार्यालय राख्ने विषयमा सुरु सुरुमा विवाद भएपनि अहिले खासै देखा नपरेको उनको तर्क छ ।

बाहिर तपाईहरुमाथी नै शंकाको नजर छ नी भन्ने लेकाली अनलाइनको  प्रश्नमा उनले भने, “त्यो भन्नु स्वभाविकै हो, कसैले धमिलो पानीमाथी माछा मार्न पनि खोज्यो होला । हामीबिच कुनै विवाद छैन् ।” घटनाको कसैले जिम्मा पनि नलिएकाले ठ्याक्कै यसले गर्याे भनेर भन्न सकिने ठाउँ नभएको उनले बताए । अहिले वडा कार्यालयको काम निजी घरबाट भैरहेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस् : सल्यानमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी, कार्यालय पुर्ण रुपमा क्षति

 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार