• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लवका ६ कार्यकर्ता प्रहरी हिरासतमा : पक्राउ पर्नेमा किसान, डाक्टर र शिक्षक !


असार ५, सल्यान । सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् । विभिन्न समयमा पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको छ ।

गिरफ्तार पर्नेमा पार्टी निकट भातृसंगठन आवद्ध भई पेसामा कार्यरत छन् । जेठ २२ गते कपुरकोटबाट अर्जुन कुमार ओलीलाई प्रहरीले गिरफ्तार गर्याे । उनि कपुरकोटमा मेडिकल संचालन गर्दै आएका व्यक्ती हुन् । उनको घर रोल्पाको त्रिवेणी गाउँपालिकामा पर्छ । उनि नेकपा सल्यानमा आवद्ध छन् ।

जेठ २७ गते शारदा नगरपालिकाको मार्केबाट शिक्षक लुट बहादुर खत्री गिरफ्तार परे । उनि मार्केको एक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् भने नेकपा निकट शिक्षक संगठनका सल्यान जिल्ला अध्यक्ष हुन् ।

जेठ ३१ गते त्रिवेणी मुलखोलाका नेत्र बहादुर पुन (बलदेव) गिरफ्तार परे । उनि युवा संगठनका पुर्व जिल्ला अध्यक्ष हुन् भने अहिले गाउँमा किसान गर्ने र पार्टीका जिल्ला सदस्य भएको नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले बताए ।

पक्राउ परेका यी तिन जनालाई सान्ति सुरक्षा अन्तरगतको सार्वजनिक कसुर लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर पंचलाल गोलेले लेकाली अनलाइनलाई बताए । प्रहरीले उनिहरुलाई २५ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्ने र फेरी म्याद थपेर पनि अनुसन्धान गर्न सक्ने उनले बताए ।

त्यस्तै जेठ १३ गते पक्राउ परेका शारदा नगरपालिका मोख्लाका गिरदल बस्नेत गाउँमा किसान गर्ने व्यक्ती हुन भने सो पार्टीका जिल्ला सदस्य हुन् । उनि सँगै पक्राउ परेका बागचौर नगरपालिका कोटबाराका सेरजंग चन्द सामान्य शुभचिन्तक भएको नेकपाले जनाएको छ ।

त्यसैगरी असार ३ गते बागचौरबाट समिर भण्डारी पक्राउ परे । उनि नेकपा समर्थित कार्यकर्ता हुन् । उनले थारमारेमा विद्युत इलेक्टीकलको पसल संचालन गरेर बसेका थिए । यी ३ नै जनालाई बम विस्फोटको मुद्दा लगाइएको इनिस्पेक्टर गोलेले बताए ।

यसैबिच जेठ ११ गते पक्राउ परेका युवा संगठन सल्यानका उपाध्यक्ष डम्बर चलाउने धरौटीमा रिहा भएका छन् । उनलाई कहिदिन अघि जिल्ला प्रशासन कार्यालय सल्यानले जनही ३० हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो पनि पढ्नुहोस्: सल्यानमा विप्लवको शुभचिन्तक हुँदा छोरो प्रहरी हिरासतमा, भेट्न गएका बुबा अस्पतालको बेडमा !

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार