• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा एक युवकले हावाबाट बत्ती बाले


असार ६, सल्यान । सल्यानमा एक युवकले हावाबाट बत्ती बालेका छन् । जिल्लाको शारदा नगरपालिका ४ साँईलाकम्दका ३८ बर्षीय बुद्धिराज कवरले हावाबाट बत्ती बालेर निकालेका हुन् ।

साहुटोलमा इलेक्ट्रिोनिक पसल गर्दै आएका उनि विगत लामोदेखि परिक्षणमा रहेका थिए । दुईपटक प्रयास गर्दा असफल भएको र तेस्रोपटक प्रयास गर्दा सफल भएको उनले लेकाली अनलाइनलाई बताए । बत्ती बाल्नको लागी ४ दिनसम्म काम गरेको उनको भनाई छ ।

अहिले उनले घरको आगनमा फलामको लामो डन्डीमा पुराना सिडि (चक्का)लाई पंखाको रुपमा बनाएका छन् । हावाले ती पंकालाई चलायो भने बत्ती बल्ने गर्दछ । पंखा घुम्ने ठाउँमा बेरिङ लगाएतका सामाग्री राखेको र त्यसमा तार घर्सन् भएर विद्युतको उर्जा आउने उनले बताए । उनका अनुसार पंखाबाट आएको उर्जालाई ब्याट्रिमा जम्मा पनि गर्न सकिन्छ ।

अहिले यो पहिलो परिक्षण भएको र अब यही प्रविधीबाट ठुलो खालको उर्जा निकाल्न सकिने उनको भनाई छ । धेरै हावा चल्ने ठाउँमा यसबाट विद्युत निकाल्न सकिने उनले बताए ।

उनले भने, “मैले आफ्नै दिमाक लगाएर यो काम गरेको हुँ, पहिला कक्षा ६ मा पढ्नेबेला पनि गोबरबाट रेडियो बज्ने बनाएको थिए ।” उनले अब सल्यानको निगाल्चुलाई तार्गेट बनाएर हावाबाट विद्युत निकाल्ने बताएका छन् । हावाको लागी निगाल्चुला उपयुक्त ठाउँ भएको उनको भनाई छ ।

अहिले परिक्षणको लागी बनाएको बालेको बत्ती सामान्य आफ्नै खर्चमा बनाएको उनले बताए । “अब ठुलो खालको विद्युत पनि निकाल्न सकिन्छ । त्यसका लागी खर्च पनि धेरै लाग्न सक्छ । सम्बन्धीत वडा र नगरपालिकाले सहयोग गर्याे भने हावाबाट झिलिमिली बनाउन सकिन्छ ।”, उनले भने, “सोलारभन्दा हावाको बिजुली ८० प्रतिशत भन्दा धेरै प्रभावकारी हुन्छ ।”

त्यस्तै उनले आफ्नो पसलमा पनि चोर पत्ता लगाउने अटो साइरन बनाएका छन् । चोरले ढोका खोल्न बित्तीकै ठुलो तरंगमा साइरनको ध्वनी बज्ने गर्दछ । यसले एकपटक रातीमा आफ्नो पसल चोरी हुनबाट समेत बचाएको उनको भनाई छ । साइरन बज्न बित्तीकै पसल वरपरका उठेको र चोर भागेको उनले बताए ।

अटो साइरन सल्यानमै आफुले पहिलो पटक बनाएको उनले दाबी गरे । यो अहिले साहुटोलमा उनको सँगै दुईवटा पसलमा जोडिएको छ ।

स्थानीय समेत रहेका ४ नम्बर वडा सदस्य शंकर गिरीले यो काम आफ्नो नगरपालिका र जिल्लामा नमुना र पहिलो भएको बताए । उनले भने, “उहाँले पहिलेदेखिनै यो काममा निकै मेहेनत गर्नुभएको थियो । अहिले सफल हुनुभएको छ ।” उक्त हावाबाट निकालिएको बत्तीको बिषयमा वडामा पनि कुरा भएको र त्यसमा वडाले पनि केहि सहयोग गर्ने उनले बताए ।

 

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार