• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानका स्थानीय तहले खर्च मनपरी गरेको भन्दै अख्तियारमा उजुरी !


असार ६, सल्यान । सल्यानका स्थानीय तहले खर्च मनपरी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् । आयोगको सुर्खेत कार्यालयलका अनुसार स्थानीय तहको खर्च मनपरीका विरुद्ध १३ वटा उजुरी दर्ता भएका छन् ।

यी उजुरी २ बर्षको अवधीमा परेको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले लेकाली अनलाइनलाई बताए । उनका अनुसार यी मुद्दा मध्य २ वटा फर्स्यौट भएका छन् भने अन्य ११ वटा अनुसन्धानमै रहेका छन् ।

त्यस्तै सल्यानबाट २ वर्षे अवधिमा स्थानीय तहको खर्च मनपरी सहित अन्य ७१ वटा उजुरी आयोगमा परेको उनले बताए । तीमध्ये ३७ उजुरी फर्स्यौट भएका छन् भने ३४ अनुसन्धान प्रक्रियामा छन् ।

जसमा सबैभन्दा बढी शिक्षाका ३२ वटा रहेका छन् । शिक्षा क्षेत्रमा भवन निर्माणमा अनियमितता भएको, विद्यालय व्यवस्थापन समिति अवैध तरिकाले गठन गरेको, शिक्षक नियुक्ति र परीक्षामा मनपरी गरेको भन्दै उजुरी परेको उनले बताए ।

विभिन्न सरकारी कार्यालयले निर्माण प्रक्रियामा लापरबाही गरेको, स्टमेटअनुसार काम नगरेको, उपभोक्ता समितिले रकम हिनामिना गरेको लगायत उजुरी पनि आयोगमा दर्ता भएका छन् ।

दुई वर्षको अवधिमा १८ जनालाई कारवाहीको दायरामा ल्याइएको पनि उनले जानकारी दिए । बागचौर नगरपालिकाको बांगेलाखुरीमा विद्युत्को पोल खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उनीहरूलाई कारबाही प्रक्रियामा ल्याइएको कार्यालयले जनाएको छ ।

विद्युत् लाइन विस्तारका लागि सांसद क्षेत्र विकास कोषबाट १० लाख र साविक गाविस कार्यालयबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । अनियमिततामा संलग्नलाई आवश्यक कारबाहीका लागि २०७५ फागुन ७ मा विशेष अदालतमा मुद्दा भएको छ ।

 

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार