• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

‘योजना पाउन मरिहत्ते गर्ने तर कार्यान्वयनमा वास्ता नगर्ने बानी भयो’- मन्त्री ज्वाला


असार ८, सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योजना पाउन मरिहत्ते गर्ने तर कार्यान्वयनमा जाँदा वास्ता नगर्ने बानीले दिगो विकास हुन नसकेको बताएका छन् ।योजनाहरुको प्राथमिकीकरण नगर्दा अत्यावश्यक योजना छुट्ने गरेको बता स्थानीय तहलाई योजना बैंक निर्माण गरी अघि बढ्न उनले सुझाव दिए।

दार्मा गाउँपालिकाको पाँचौँ गाउँ सभाको प्रथम बैठक, निति तथा कार्यक्रम सार्वजनिकिकरणका क्रममा शनिबार दार्मा पुगेका मन्त्री ज्वालाले समुदायबाट छनौट भएका योजनाहरुलाई एकीकृत गरी तिनीहरुको योजना बैंक निर्माण गर्न गाउँपालिकालाई सुझाव दिए । योजना बैंकमा नै स्थानीय तहले योजनाहरुलाई प्राथमिकीकरण गरी राखेमा कार्यान्वयनमा सहजता आउने उनको धारणा थियो ।

प्राथमिकता पाउनुपर्ने योजना कार्यान्वयन हुन नसक्ने तर कम प्राथमिकताका योजना छनौटमा पर्दा जनता सेवा सुविधा पाउनबाट बञ्चित भएको भन्दै उनले स्थानीय तहले आफ्नो पुँजीले कार्यान्वयन गर्न सकिने, प्रदेशको सहयोग आवश्यक, संघको सहयोग आवश्यक एवं समपुरकमा गर्न सकिने आयोजनाहरुको समेत सूची बनाउनुपर्ने बताए ।

सभामा बोल्दै मन्त्री ज्वालाले दीर्घकालीन रुपमा जनतालाई टेवा दिनेखालका कामहरुलाई महत्व दिन समेत स्थानीय सरकारलाई सुझाव दिए । विकास निर्माण गर्दा जनताको जीवनस्तरमा सुधार आउने र स्थानीयले प्रत्यक्ष रोजगारी पाउने खालका योजना छनौट हुनुपर्ने उनको धारणा थियो ।

प्रदेश सरकारले सडक निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै मन्त्री ज्वालाले ठुला योजना कार्यान्वयनका लागि प्रदेश तथा संघीय सरकारसँग माग गर्न आग्रह गरे । यो बर्ष प्रदेश सरकारको पहिलो वर्ष भएकोले कानुन एवं कार्यविधिको अभाव हुँदा बजेट विनियोजनमा ढिला भए पनि आगामी आर्थिक वर्षमा कुनैखाले समस्या नआउने बताए । हरेक विकासको अनुभूति स्थानीय तहमै हुने भन्दै उनले तीनवटै सरकार अन्तर्सम्बन्धित भएको र सडक, सिचाईं, खानेपानीका योजनाहरु प्रदेशको उच्च प्राथमिकतामा परेको ज्वालाले बताए ।

सभामा दार्मा गाउँ पालिका अध्यक्ष निम बहादुर केसीले आर्थिक नीति पेस गरेका छन् । त्यस नीति तथा कार्यक्रममा छलफल गरेर असार १० गते बजेट ल्याउने नगरपालिकाले जनाएको छ।

 

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार