• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

यी हुन सल्यानमा सलामी लिने नेताहरु ?


असार १०, सल्यान । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।

एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन्, जसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको सलामीको तस्वीर ‘ट्रोल’ नै बनेको छ । मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएको तस्वीरलाई बाँसको टुप्पो, विमान, स्काभेटर इत्यादिमा बसेर सलामी लिएको फोटोसपबाट तस्वीर बनाएर ट्रोल बनाइएको छ । तर उनि टेबुलमाथी मात्रै बसेर सलामी लिएका थिए ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले मात्र होइन, यसरी सलामी लिनेहरु सबैले ‘खेलकुदको नियम’ भन्ने गरेका छन् । तर, राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता विभाग प्रमुख एवं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रपियोगिताका सचिव मीनकुमार श्रेष्ठ त्यसलाई स्वीकार गर्दैनन् ।

उनका अनुसार राजतन्त्रकालमा ‘वीरेन्द्र सिल्ड’ का नाममा हुने प्रतियोगिता गणतन्त्रमा राष्ट्रपति रनिङ सिल्ड भएको हो । राष्ट्रपति रनिङ सिल्ड पनि ११ औं संस्करणसम्म भइसक्यो । तर, यसरी मेचमाथि चढेर सलामी लिएको थाहा नभएको श्रेष्ठ बताउँछन् ।

प्रतियोगिता उद्घाटनका क्रममा सहभागी टिमहरु राष्ट्रिय झण्डासँगै आफ्नो पहिचान झल्कने झण्डा लिएर मार्चपास गर्छन् । खेलाडीहरुले मार्च गरिरहँदा अतिथिहरुले बसिरहनु राम्रो नदेखिने भएकाले उभिन्थे । तर, त्यसमा भ्रष्टीकरण भयो र विस्तारै प्रमुख अतिथिले अग्लो ठाउँमा बसेर सलामी लिने संस्कार सुरु भएको छ । खेलाडीहरुप्रति सम्मान गर्ने प्रचलनलाई बिगारेर अतिथिले मेचमाथि चढेर सलामी लिनु लाजमर्दो भएको उनले बताए ।

आज हामी सल्यानका विभिन्न स्थानीय तहले गरेका खेलकुद कार्यक्रममा सलामी लिएका नेताहरुको विषयमा जानकारी दिदै छौँ ।

१. प्रकाश ज्वाला

गत फागुन २४ गते सल्यान सदरमुकाम खलंगामा उद्घाटन भएको प्रदेश स्तरीय खेलकुदको बेला कर्णाली प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई सलामी अर्पण गरियो । कर्णाली खेलकुद परिषद्ले आयोजना गरेको खेलको उद्घाटन सत्रमा उनि प्रमुख अथिती थिए ।

२. गुलावजंग शाह 

गत बैशाख २७ गते सिद्ध कुमाख गाउँपालिकामा उद्घाटन भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यान प्रदेशसभा (क) का सांसद गुलावजंग शाहले सलामी अर्पण गरे ।

३. उमकान्त शर्मा

गत फागुन २६ गते कुमाख गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड उद्घाटनका क्रममा प्रमुख अतिथि रहेका पुर्व संविधान सभा सदस्य उमकान्त शर्मालाई सलामी अर्पण गरियो ।

४. केश बहादुर बिष्ट

गत फागुन १, २ र ३ गते दार्मा गाउँपालिकाम संचालन भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले सलामी अर्पण गरे । प्रमुख अथिती रहेका विष्ट सँगै पछाडीबाट दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले पनि सलामी अर्पण गरे ।

५. सुरेश अधिकारी

जेठ ३० गते खलंगाको लुहापिङमा उद्घाटन भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमका प्रमुख अथिती शारदा नगरप्रमुख सुरेश अधिकारीलाई सलामी अर्पण गरिएको थियो ।

६. भिम बहादुर सेन

गत फागुन २५ गते कपुरकोट गाउँपालिकामा उद्घाटन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनलाई सलामी अर्पण गरियो । प्रतिगोगितामा सहभागी खेलाडिहरुले अध्यक्ष सेनलाइ मार्च पास गर्दै सलामि अर्पण गरेका थिए । सेनले कपुरकोट गाउँपालिकामा भएको अध्यक्षकप प्रतियोगितामा पनि सलामी अर्पण गरेका थिए ।


७ं. मान बहादुर डाँगी 

गत फागुन २७ र २८ गते त्रिवेणी गाउँपालिकामा भएको गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले सलामी अर्पण गरे ।

८. दान बहादुर केसी 

गत जेठ ९ गते कालिमाटी गाउँपालिकाम उद्घाटन भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले सलामी अर्पन गरे ।

माथि उल्लेखित तस्बिरहरु सामाजिक संजाल फेसबुकमा बाट लिइएका हुन् । हामीले फेसबुकमा खोजी गर्दा सल्यानमा भएका सलामी अर्पणका तस्बिर यति भेटिएका हुन् ।

 

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार