• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

झापामा मेयर र उपमेयरको कार्यकक्ष चढ्ने सिढीमा बम, अछाममा वडा कार्यालय ध्वस्त


असार १०, काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएको हो ।

नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भनेर जानकारी गराएपछि हल्ला भएको थियो ।

आफूलाई खबर आएलगत्तै दाहालले जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराएका थिए ।  जिल्लाले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उक्त झोला देखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएपछि प्रहरीले चारआलीस्थित कालीबहादुर गणलाई जानकारी गराइएको थियो ।  सेनाको टोली पुगी राति करिब ११ दुई पटक बिस्फोट गरेर प्रेसर कुकर बम निस्क्रिय पारेको थियो । बम निस्क्रिय पार्ने सेनाको टोलीकाअनुसार रिमोट कन्ट्रोलसहितको प्रेसर कुकरभित्र ६ वटा डेटोनेटर थिए ।

उता अछामको ढकारी गाउँपालिका ५ र पञ्चदेवल विनायक नगरपालिका ३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

मंगलवार बिहान २ बजेतिर विप्लवका ६ जनाजति कार्यकर्ता आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको डीएसपी शाहीले बताए ।

त्यस्तै ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको खबर प्राप्त भएको छ । तर ढकारी प्रहरी चौकिबाट दुई घण्टाको पैदल दुरीमा रहेको वडा नम्बर ५ मा प्रहरी पुगेर घटनाको विवरण संकलन गरिरहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार