• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको छत्रेश्वरी गाउँपालिकाले ४० वटा विद्यालयलाई दियो स्वास्थ्य उपचार सामाग्री


असार ११, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले प्रत्येक विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामाग्री वितरण गरेको छ। गाउँपालिका भित्रका ४० वटा विद्यालयमा विभिन्न उपचार सामाग्री राखेर एक एक थान उपचार सामाग्री बाकस र स्टेचर वितरण गरिएको हो ।

उपचार सामाग्री बाकस भित्र विद्यालयका छात्रछात्राहरुलाई अध्ययन गरिराखेका समयमा स्वास्थ्यमा केही समस्या देखिएमा तुरुन्त प्राथमिक स्वास्थ्य उपचार गर्नको निम्ति आबश्यक पर्ने सामाग्री तथा औषधिहरु राखिएको गाउँपालिकाले जनाएको छ। विद्यालयको समयमा कक्षा कोठा तथा विद्यालय परिसरमै विद्यार्थीहरुलाई स्वास्थ्यमा समस्या देखिँदा अस्पताल लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचारका सामाग्रीहरु उपलब्ध बनाएको गाउँ स्वास्थ्य प्रमुख अम्बर शर्माले बताएका छन ।

गाउँपालिका भित्रका सम्पुर्ण बिधालयका प्रधानाध्यापक हरुलाई बाकस भित्र राखिएका सामाग्रीहरुको प्रयोग गर्ने तरिका सिकाएर स्वास्थ्य सामाग्री सहितको बाकस र स्टेचर उपलब्ध बनाएको उनले बताए। गाउँपालिकाले ५ लाखको बजेटमा प्राथमिक स्वास्थ्य उपचार सामाग्री बाकस र स्टेचर खरिद गरेको हो । गाउँपालिकाको वडा नम्बर ४ स्थित जयचौर माबीबाट सोमबार वडा अध्यक्ष नेबबहादुर खड्काले सामाग्री दिएर वितरणको सुरुवात गरेका हुन्।

गाउँपालिकाले उपलब्ध बनाएको सामाग्रीले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु विद्यालय समयमा बिरामी भएपछी उपचार गर्न सजिलो हुने प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन् ।

१ हजार सेनेटरी प्याड वितरण

गाउँपालिका कार्यालयले १ हजार सेनेटरी प्याड वितरण गरेको छ। गाउँपालिका भित्रका २ वटा माविहरुमा पाँचपाँच सयका दरले गाउँपालिकाको आफ्नै बजेटबाट सेनेटरी प्याड बितरण गरिएको हो । कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई मध्यनजर गर्दै माबी जयचौर र पोखरीडाडामा प्याड उपलब्ध गराएको गाउँ स्वास्थ्य शाखा प्रमुख अम्बर शर्माले जानकारी दिए। किशोरी महिनावारी सरसफाइ कार्यक्रम अन्तरगत प्याड बितरण गरिएको उनले बताए।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार