• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मिडिया विधेयकविरुद्धको कार्यक्रममा कविता बाचन गर्न गएका ‘रसुवाली कवि’ बाटैबाट पक्राउ


असार ११, काठमाडौं । मिडिया काउन्सिल विधेयकविरुद्धको कार्यक्रममा कविता बाचन गर्न हिडेका ठाकुरप्रसाद तिमिल्सिना  ‘रसुवाली कवि’लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आज दिउँसो वसन्तपुर डबलीमा आयोजित कार्टुन प्रदर्शनी र कवितावाचन कार्यक्रमका लागि अतिथि कविका रुपमा कार्यक्रमस्थल जाँदै गरेका उनलाई प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिबाट गिरफ्तार गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले तिम्सिनासँगै रहेका पत्रकार संगीत स्रोतालाई पनि नियन्त्रणमा लिएको थियो ।  सोधपुछका क्रममा स्रोता नयाँ पत्रिका दैनिकका पत्रकार भएको खुलेपछि उनलाई छाडिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटी बताउँछन् ।

तिम्सिनासँग विप्लव समूहको विषयमा केही सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको उनले बताए । उनले भने, ‘के मुद्दा चलाउने अथावा नचलाउने भन्ने निर्णय भइसकेको छैन ।’

पत्रकार महासंघजस्तो साझा सङ्गठनको कार्यक्रममा सहभागी हुन गइरहेका कविलाई बिना कारण गिरफ्तार गरेर अनावश्यक दुख दिएको भन्दै महासंघका पदादिकारीहरुले बताएका छन् । यसअघि उनलाई २ वैशाखमा सशस्त्र प्रहरी बल, हल्चोकको टोलीले पनि पक्राउ गरेको थियो ।

रसुवाली कवि देशभक्त, क्रान्तिकारी स्रष्टा हुन् । उनी अशल संस्मरणकार र टिप्पणीकार/समीक्षक पनि हुन् । उनको अघिल्लो गिरफ्तारीको समयमा सयौं स्रष्टा र चिन्तकहरुले बिरोध गरेका थिए । पत्रकार महासङ्घजस्तो साझा सङ्गठन/संस्थाको आमन्त्रणपछि औपचारिक कार्यक्रममा कविता वाचन गर्न जाँदाजाँदै अपहरणशैलीमा कविलाई पुनः गिरफ्तार गरिएपछि प्रगतिशील कवि, पत्रकार, साहित्यकार आदिले बिरोध जनाएका छन् ।

यसैबिच सरकारले ल्याउन लागेको प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार वसन्तुपुरमा बृहत प्रदर्शन गरेको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार वसन्तपुरमा बृहत कार्टुन प्रदर्शन तथा व्यंग्यात्मक कविता वाचन गरिएको हो ।

सरकारले प्रेस विरोधी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको भन्दै महासंघ सहित मुलुकभरका पत्रकारहरुले विधेयक फिर्ता लिन माग गर्दै आएका छन् । कार्यक्रममा वरिष्ठ कवि कलानिधि दाहाल, कविहरु बालकृष्ण लम्साल, नारायण सापकोटा, महेन्द्र थुलुङ राई, श्रवण मुकारुङ, मातृका पोखरेल, विमला तुम्खेवा, मनोज न्यौपाने लगायतले कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार