• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

‘छोराको हातखुट्टा चल्दैन, हेर्ने कोही छैनन्, कोठामा थुनेर काममा निस्कन्छु’


उमा केसी/असार १२, रोल्पा । रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार। त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो। आमाको मृत्यु हुँदा श्यामलाल १० वर्षका थिए। बुवाआमाले छाडेर गएपछि उनी एक्लै भए। सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि त श्यामलाल सहाराविहीन नै भए। ज्याला मजदूरी गरेर साँझ बिहानको जोहो गर्दै आएका उनले सँगै काम गर्ने अप्सरासँग विवाह गरे।

विवाहपछि सुनार दम्पत्तिले दुई छोरा जन्माए। कान्छो छोरा विकास एक वर्ष नपुग्दै अप्सरा घरबाट निस्किइन्। श्रीमती कहाँ गइन् भनेर निकै खोजतलास गरे श्यामलालले। तर भेट्टाउन सकेनन्। गाउँलेबाट सुने अप्सराले अर्को ठाउँ विवाह गरिसकिन्। त्यसपछि नाबालक छोरा विवेक र विकासलाई पाल्ने, हुर्काउने बढाउने जिम्मा श्यामको काँधमा आयो।

दिउँसो ज्याला मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको छाक टार्थे उनी। नाबालक छोरा रेखदेख गर्ने मान्छे घरमा कोही नभएपछि आफूले काम गर्ने ठाउँमा दुवै छोरालाई लैजान्थे। श्यामले गिट्टी फोर्ने काम गर्छन् भने छोरा दिनभर धूलोमा खेल्छन्। श्यामको लामो समय यसैगरी बिते।

जेठो छोरा विकास पाँच वर्ष र कान्छो छोरा विवेक चार वर्ष पूरा भएका छन्। कान्छो छोरा विवेकको हातखुट्टा चल्दैनन्। उभिन र बस्न नसक्ने भएपछि विवेकलाई दिनभर घरभित्रै थुनेर कामको खोजीमा निस्कन्छन् श्यामलाल। ‘काम नखोजे के खाएर बाँच्ने, त्यसैले दिनभरि घरको कोठामा थुनेर काममा जान्छु’, श्यामलालले भने, ‘कहिलेकाहीँ त बिहान निस्केको एकैचोटि बेलुका फर्कनुपर्छ, त्यस्तो बेला दिसापिसाबले घेरिएर बसेको हुन्छ।’

घरमा खानेवस्तु नभएकाले दिनभरि भोकभोकै बस्छन् उनको परिवार। काम गरेको पैसाले साँझ बिहान छाक टार्न धौधौ हुन्छ श्यामलाललाई। सरकारले पाँच वर्षमुनिका दलित बालबालिकालाई मासिक रु २०० का दरले पोषणभत्ता दिने गर्दछ। श्यामलालका दुई छोराले सो भत्ता पाउँदै आएका छन्। दलित बालबालिकाको पोषण सुधारका लागि दिएको उक्त भत्तासमेत श्यामलालले घरमा जडान गरेको विद्युतको बिल तिर्नमा खर्च गर्छन्।

‘विद्युत् समयमा नतिरे लाइन काट्ने भएकाले छोराहरूले पाउने भत्ता बचाइराखेर तिर्दै आएको छु’, श्यामलालले भने। छोराहरूले पाउँदै आएको भत्ता उनीहरूको पोषण सुधारको लागि हो भन्ने जानकारी पनि छैन श्यामलाललाई। पानीको धारा जडान गर्ने पैसा नहुँदा श्यामलाल छिमेकीमा पुगेर एक गाग्री पानी भर्छन्। त्यही पानीले दिनभर पुर्‍याउनुपर्छ उनलाई । ‘शौचालय जाने पानी हुँदैन, कपडा धुनका लागि एक घण्टा टाढाको खोलामा जान्छु’, श्यामलालले भने।

जेठो छोरालाई यसै वर्षदेखि विद्यालय पठाएका छन्। ‘पाँच वर्ष पुगेर पनि स्कूल नपठाएको भनेर घरमै गुनासो गर्न आएपछि बालमन्दिरमा भर्ना गरेको छु’, श्यामलालले भने, ‘विद्यालयमा ऊ दिनभर भोकभोकै बस्छ। के नास्ता दिने र? घरमा नास्ता बनाउने अन्न नै छैन।’

सुरूमा दुवै छोरालाई कुपोषण भएपछि विभिन्न संस्थाको सहयोगमा दाङमा रहेको पोषण सुधारगृहमा पनि राखे उनले। पोषण सुधारगृहमा बसेको केही समयपछि छोराहरू लिएर घर फर्किए श्यामलाल। जेठो छोरालाई त ठीक भयो। कान्छो छोराको भने कुपोषणमा सुधार हुन सकेन।

शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता कुराबाट बञ्चित हुँदै आएको छ। अत्यधिक गरिबीका कारण उनले कुपोषित छोराको उपचार गराउन सकेका छैनन् भने विद्यालय पठाउनसमेत धौधौ परिरहेको छ।

स्वच्छ खानेपानी र सरसफाइको बहस भइरहँदा उनले आधारभूत तहको खानेपानीसमेत उपभोग गर्न पाएका छैनन्। देशमा ठूलो राजनीतिक परिवर्तन भएको भनिए पनि श्यामलाललाई भने त्यसले पटक्कै छुन सकेको छैन। रासस

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार