• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

एसईईमा साढे ४ लाख पास, यसरी हेर्नुस् नतिजा ?


असार १२, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार