• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान छत्रेश्वरी गाउँपालिका विरुद्ध शिक्षक आन्दोलित, यस्तो भन्छन् अध्यक्ष केसी ?


असार १३, सल्यान । छत्रेश्वरी गाउँपालिकाले शिक्षकहरुलाई विभिन्न ठाउँमा काजमा सरुवा गरेको भन्दै नेपाल शिक्षक महासंघ सल्यानले बिरोध स्वरुप आज सदरमुकाम खलंगामा बैठक गरेको छ । महासंघका अध्यक्ष मधुसुदन गिरीको अध्यक्षतामा भएको बैठकले विभिन्न विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई प्रचलित शिक्षा ऐन नियमको प्रतिकुल हुने र शिक्षकलाई मानसिक तनाब दिनेगरी छत्रेश्वरी गाउँपालिकाले काम गरेको आरोप लगाइएको छ ।

पटकपटक शिक्षक महासंघ लगाएत पेशगत संगठनहरुले गाउँपालिकाको निर्णय विरुद्ध ध्यानआकर्षण गर्दापनि व्यवास्ता गरिएको भन्दै उनिहरुले आपत्ती जनाएका हुन् । बैठकमा सहभागी जनज्योति आधारभुत विद्यालय छत्रेश्वरी १ काल्चेका प्रधानध्यापक टोप बहादुर शर्माले आफ्नो विद्यालयको तह घटुवा गर्दा विद्यार्थीले ८ कक्षा पास गरेको प्रमाणपत्र पाउन नसकेको बताए ।

“८ कक्षासम्म संचालनमा रहेको विद्ययालयलाई गाउँपालिकाले तह घटुवा भनेर ५ कक्षासम्म झारेपछि स्थानीय सहित हामीले बिरोध जनायौँ, कक्षा पनि नियमिती संचालन गरियौँ ।”, उनले भने, “तर अहिले ८ कक्षा पास भएका ३९ जना विद्यार्थीलाई गाउँपालिकाले प्रमाणपत्र दिएको छैन ।”

लेखपोखराको ढोरेनीमा रहेको पृथ्वी प्राविबाट ०७५ भदौ महिनामा काजमा सरुवा भएर एकजना शिक्षक आफ्नो विद्यालयमा आएको र विव्यस समितीले नमान्दा घरमै बसेर तलब खाइरहेको उनले आरोप लगाए । गाउँपालिकाले विद्यालयको खातासमेत रोकिदिएको उनले बताए ।

यी विषयहरुलाई सामाधान गर्ने भन्दै आज बसेको नेपाल शिक्षक महासंघको बैठकले वार्ता तथा आन्दोलन परिचालक समिती गठन गरेको छ । समितीको संयोजकमा महासंघका जिल्ला अध्यक्ष मधुसुदन गिरी रहेका छन् । सदस्यहरुमा किशोर हमाल, एकराज बुढाथोकी, रोमहर्ष खड्का र खडक विक रहेका छन् ।

यता छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले गतबर्ष नै निर्णय गरेर काजमा पठाइसकेको तर शिक्षकहरुले आफुखुसी गर्नको लागी यस्तो प्रपन्च रचेको बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, “हामीले शिक्षा सुधारको लागी विद्यार्थी संख्या कम भएका विद्यालयको तह घटुवा, योग्यताअनुसारका शिक्षक सरुवा गरेका हौँ, तर त्यसलाई नमान्नको लागी उहाँहरुले यस्ता खालका कुरा गरिरहनु भएको छ ।”

जनज्योति आधारभुत विद्यालयमा ८ कक्षामा विद्यार्थीले प्रमाणपत्र नपाएको विषयमा अध्यक्ष केसीले भने, “यो विद्यालयमा विद्यार्थी संख्या कम हुँदा तह घटुवा गरिएको छ, यहाँका विद्यार्थीले नजिकैको भानुभक्त माविबाट परिक्षा दिएका छन् । उनिहरुले भानुभक्त माविबाटै प्रमाणपत्र पाउछन् ।” गाउँपालिकाले गरेको निर्णयबाट आफुहरु पछि नहट्ने उनले बताएका छन् ।

काजमा गएका प्रअ र लेकापालको नाममा मात्रै बैंक खाता संचालन हुने भन्दै उनले बैंक खाता राकिएको बताए । कुनैठाउँमा विव्यसले नमानेपनि काजमै गएका शिक्षकले काम गरेको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रवार