• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यान घुसकाण्ड : शिक्षक र मेयरको भेट, घुस दिएको २५ हजार अख्तियारकै थियो !


असार १४, सल्यान । गएको असार १० गते शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धन बहादुर ओली २५ हजार घुस रकम सहित रंगेहात पक्राउ परे । उनले शिक्षक सरुवा गरिदिन्छु भन्दै २५ हजार लिदै गरेको अवस्थामा कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको बिषेश टोलीले समायो ।

उनि पक्राउ परेको समाचार आएपछि कतिपयले घुस दिने व्यक्ती पनि कारबाहीको भागेदार बन्नुपर्छ भनेर प्रतिकृया दिए । तर घटनाको रहस्य र मोड भने फरक थियो ।

घुस दिने युवराज आर्चाय नाम गरेका शिक्षकले पर्वतको एक विद्यालयमा अध्यापन गराउदै आएका छन् । उनको घर सल्यान शारदा नगरपालिका ८ मार्केमा पर्छ । उनले डेढ बर्षअघि शिक्षक सेवा आयोग पास गरि स्थायी शिक्षकमा नाम निकालेका थिए । उनि पहिले सल्यानमा हुँदा हल्काफुल्का पत्रकारिता गरेको बताउछन् ।

सल्यानबाट पर्वत टाढा भएकाले सुरुमा उनि बाँकेमा आउन खोजे । तर त्यहाँ पनि कागजपत्र प्रकृयामै भएको भन्दै लामो समय हुँदा पनि सरुवा नभएको उनले लेकाली अनलाइनसँगको कुराकानीमा बताए । त्यसपछि उनि हानिए गृह जिल्ला सल्यानतिर ।

बागचौर नगरपालिका १० पिपलनेटामा रहेको महेन्द्र माविमा सरुवाको लागी उनले सबै कागजपत्र मिलाएर जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सल्यानमा गएर प्रमुख धन बहादुर ओलीसँग भेटे । भेटका क्रममा प्रमुख ओलीले सरुवा हुने तर सरुवा गराएबापत आफुलाई केहि खर्च चाहिने अडान राखे । दुवैको बार्गीङपछि २५ हजारमा कुरा मिल्यो र सरुवा प्रकृया अगाडी बढाउने मौखिक सहमतीमा कुरा टुंंगियो ।

घटनाले फरक मोड लियो

दुवैको मौखिक सहमतीपछि निस्कीएका शिक्षक आर्चाले आफुले घुस नदिने तर घस लिनेलाई कारबाहीको दायरामा ल्याउने मनसाय बनाए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, “म गोजीमा एक हजार रुपैया मात्रै राखेर गएको थिए । तर सरुवाको लागी २५ हजार मागेपछि मेरो मन हक्कानीयो, र घुस लिनेलाई कारबाहीको दायरामा ल्याउने अठोट गरे ।”

“यहि मैले स्वार्थ नै चाहेको भए एक महिनाको तलब दिएर जिन्दगी राम्रो हुने काम गर्ने थिए ।”, उनले भने, “तर मैले त्यसो गरिन्, घुस माग्नेलाई कारबाही गर्ने अठोट गरे ।” उक्त कुरा बाहिर ल्याउनलाई उनले नाम नखुलाएपनि जिल्लाका विभिन्न व्यक्तीहरु सँग भेटेको बताए ।

तर यस बिषयमा भने शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले खुलाएका छन् । शुक्रबार शीतलपाटीमा भएको एक कार्यक्रममा मेयर अधिकारीले सरुवाका लागी शिक्षाका हाकिमले घुस मागेपछि पीडित भएका शिक्षक आफु कहाँ आएको खुलाएका हुन् ।

आफ्नो कार्यकक्षमै गएर शिक्षक आर्चायले ‘मेयर साप म शिक्षाका हाकिमलाई घुस दिउ त ?” भनेपछि भ्रष्टाचारको अभियानमा लागेको बताउने मेयर अधिकारीले आफुलाई सहिनसक्नु भएको बताए । उनले प्रशासन सम्म पुगेर अख्तियारबाट समाउन लगाउनुहोस् भन्ने जवाफ दिए । त्यसपछि नै रंगेहात इकाई प्रमुख ओलीलाई पकड्न अख्तियार तथा प्रशासन सफल भयो ।

मेयर अधिकारीले जिल्लामा त्यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गर्नुपर्ने भन्दै विभिन्न राजनीतिक दलबाट आफुलाई दबाव आएको र पिडित शिक्षक आचार्यलाई दोषी भन्दै झनै सरुवा हुन नदिने चलखेल चलेको तर्फ गम्भिर बन्न अनुरोध गरेका छन् । आफुले भ्रष्टाचारीलाई कारबाही गर भन्दा विभिन्न शिक्षक संगठनहरुले भ्रष्टाचारीको बचाउ गर्दै आफुलाई गलत गरेको आरोप लगाएको र त्यस्ता कुराले आफुलाई अगाडि बढ्न नरोक्ने बताए ।

घुस दिएको २५ हजार अख्तियारकै

सरुवाका लागी शिक्षक आर्चायबाट इकाइ प्रमुख ओलीले लिएको २५ हजार रकम अख्तियारकै भएको खुलेको छ । शिक्षक आर्चायसँग प्रमुख ओलीले घुस मागेपछि प्रशासनबाट अख्तियारमा कुरा पुग्यो ।

त्यसपछि आर्चायलाई अख्तियारले मास्टर पलान सिकायो । एक/एक हजारका २५ वटा नोटलाई अख्तियारले फोटोकपि गरेर राख्यो र ती नोट शिक्षक आचार्यलाई दियो । असार १० गते बिहान साढे १० बजे कार्यलयमै गएर इकाइ प्रमुख ओलीलाई नोट दिने कुरा भयो । जसको सबै फोन कल रेकर्ड अख्तियारको निगरानीमा थियो ।

सुरुमा विभिन्न बाहान पारी इकाइ प्रमुख ओलीले पैसा खातामा वा अरुका माध्यामबाट लिन खोजे तर शिक्षक आर्चायले उनलाई नै हात पार्ने अडान राखे । र, उनि सफल भएर कार्यलयमै पुगी पैसा दिए । शिक्षक सँगै पछिपछि गएको अख्तियारको टोलीले पनि पैसा लिन लागेको रंगेहात फेला पार्याे र भिडियो खिच्यो ।

मलाई फसाउन खोजियो : इकाइ प्रमुख ओली

उनि अख्तियारको फन्दामा परेको थाहा पाउन बित्तीकै जिल्लाका केहि पत्रकारहरु शिक्षा कार्यलयमा पुगे । त्यहाँ इकाइ प्रमुख ओलीले पैसा लिएको प्रमाण बनाउदै थिए अख्तियार र प्रहरी टोलीले ।

त्यहि बेला इकाइ प्रमुखलाई पत्रकारहरुले प्रश्न गर्न खोजे तर प्रहरीले गर्न दिएन् । अहिले आफुले रंगेहात पक्राउ गरेको र सबै कुरा अदालतमा गएपछि मात्रै बोल्न पाउने अख्तियारका टोलीको तर्क थियो । त्यहीबेला कराएर बोलेका इकाइ प्रमुख ओलीले भने, “मलाई फसाउन खोजिएको हो, जबरजस्त पैसा लिन लगाइयो, यो म स्वीकार्दिन ।”

घुस दिनेलाई बधाई 

२५ हजार घुस बोकेर इकाइ प्रमुखको हातमा दिने शिक्षक आर्चायलाई केहिले कारबाही गर्नुपर्छ भनेर फेसबुकमा लेखे । उनिहरुको तर्क थियो घुस दिने र लिने देशका दुवै सत्रु हुन् । यद्देवी उनिहरुले घटनाको भित्री कुरा भने थाहा पाएका थिएनन् ।

तर तिनै शिक्षकलाई केहिले बधाई दिएका छन् । शिक्षक आर्चायसँग फोटो खिचेर विद्यार्थी नेता गनेशमान सिंह र भुमप्रकश भण्डारीले फेसबुकमा सँगै फोटो खिचेर बधाई दिएका छन् । यस्ता घुसकाण्डलाई बाहिर ल्यान अठोट गरेको भन्दै उनिहरुले बधाई दिएका हुन् ।

गनेशमानले लेखेका छन्,

“सल्यानमा केही शिक्षक र नेता शिक्षक छन् जस्को ढोङ्गी चरित्र देखेर घिन लाग्छ । आज एउटा शिक्षक सँग सेल्फी लिनको लागि सल्यान खलंगामा केही बेर उत्साहित भइयो !  भ्रष्टाचार विरुद्ध लड्ने आँट भएका युवराज आचार्य सरसँग । समाज आँटले बदल्ने हो , ढाँटले होइन !”

त्यस्तै भुमप्रकाशले लेखेका छन्,

अख्तियारको फन्दामा सल्यानका जिशिअ….

जिशिका सल्यान भ्रष्टाचारको केन्द्र र लुटको अखडा बनेको निष्कर्ष सहित २०७३ बैशाख २१ गते तत्कालीन भ्रष्ट जिशिअ बरखुप्रसाद रजकलाई अखिल (क्रान्तिकारी ) सल्यानले कार्यकक्षमै पुगेर कालोमोसो दलेर कारबाही गरेको थियो।

आज २०७६/०३/१० गते युबराज आचार्य सरले सोही कार्यलयका अर्का भ्रष्ट, जिशिअलाई अख्तियारको फन्दामा पारेर कारबाही गराउन सफल हुनुभएको रहेछ।संयोगवस भनौं।उहाँलाई भेटेरै बधाई दिन पाउँदा खुसी लागेको छ।तपाईंको आँटको तारिफ गर्दछु। भ्रस्टाचारीलाई निरुत्साहित पार्नु तपाईं ,हामी सबैको सरोकार र दायित्व हो।आँट गरौं।आआफ्नो ठाउँबाट भ्रष्टाचारका विरुद्ध निर्ममतापुर्वक लडौं।भ्रष्टाचारीका विरुद्ध हातेमालो गरौं।

युबराज सरलाई पुनः बधाई।

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार