• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाले कैलालीमा ४५ वटा वडा कार्यालयमा ताला लगायो


असार २२, कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरेको छ । जिल्लाका गाउँपालीका, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा प्रतिबन्धीत नेकपाले तालाबन्दी गरेको हो ।

धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत वडा कार्यालयहरुमा तालाबन्दी गरेको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् । वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गरेको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ ।

कर्मचारी र जनप्रतिनिधी कोठामा थुनिए 

कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लवका कार्यकर्ताले थुनेका थिए । सनिबार राती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव नेकपाका कार्यकर्ताले बाहिरबाट ताला लगाएर थुनेका हुन् ।

स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधी रातीको समयमा लेखा फाँटमा काम गरिरहेका थिए । नियम अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजे सम्म भएपनि लम्कीचुहा नगरपालिकामा भने नेकपाका कार्यकर्ताले मध्यरातमा शंकास्पद काम गरिरहेको अवस्थामा कर्मचारी सहितका जनप्रतिनिधीलाई थुनेको बताइएको छ ।

हिजो शनिबार भएकाले सबै सरकारी कार्यालय बन्द रहेपनि लम्कीचुहा नगरपालिकामा भने मध्य रातमा समेत काम भइरहेको भेटिएको हो । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार