• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

विप्लव विरुद्ध योजनावद्ध रुपमा कारबाही गरिन्छ : गृहमन्त्री थापा


असार २२, चितवन । गृहमन्त्री रामबहादुर थापाले विप्लव नेकपाविरुद्ध योजनावद्ध रुपमा कारबाही गर्ने बताए । भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षकहरुको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विप्लव नेकपाबाट सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउने काम हुन थालेको भन्दै योजनावद्ध रुपमा कारबाही गर्ने बताए ।

गृहमन्त्री थापाले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाल प्रहरीलाई राज्य र आमनागरिकप्रति पूर्ण उत्तरदायित्व बहन गर्नेगरी सेवामुखी बनाउन, प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, बृत्तिविकासका अवसरलाई तदारुकताकासाथ कार्यान्वयन गर्न, प्रहरी सेवा नागरिक पहुँच र नागरिकमैत्री बनाउनका लागि गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा आइसकेको उल्लेख गरे ।

राज्यको पुनःसंरचना र कानुनी रुपान्तरणका लागि राज्यले दिएको जिम्मेवारी मन, वचन र कर्मले सम्पादन गर्दै समाजका सिमान्तकृत वर्ग र समुदायलाई संरक्षण गर्न, अपराधबाट पीडितको संरक्षण र पिडकलाई कानुन बमोजिम दण्डित गर्नका लागि कटिवद्ध हुन प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले कुनै कसर बाँकी नराखेको बताए । उनले प्रहरी सेवा विशुद्ध रुपमा एक व्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई दीक्षित प्रहरी कर्मचारीले व्यावसायिक जीवनको यस खुशियाली क्षणमा गरेको प्रणलाई आत्मसात गरी हरेक प्रहर क्रियाशील रहेर नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा २१ महिलासहित तीन सय पाँच जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार