• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाले बर्दियामा वडा कार्यालय आगजनी गर्यो, प्रहरी निरीक्षक घाईते


असार २४, बर्दिया । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकाले बर्दियाका वडा कार्यालयहरुमा आगलागी र तालाबन्दी गरेको छ । सामाजिक दलाल पूँजीवादी सरकार खारेज गरौं’ भन्ने पर्चा छरेको विप्लव नेकपाले गेरुवा–६, मनाउको वडा कार्यालयमा आगलागी गरेको हो ।

सोमबार राति सवा १२ बजे वडा कार्यालयमा आगजनी गरेका हुन् । आगोले वडा कार्यालयको प्रशासनिक फाँटको सम्पूर्ण कागजपत्र जलेको छ । वडा कार्यालयमा लागेको आगो निभाउन गएका प्रहरी निरीक्षक यामबहादुर मल्ल घाइते भएका छन् ।

बर्दियाकै गुलरिया नगरपालिका–१२, मोहम्मदपुर र बाँसगढी नगरपालिका–७, डेउढाकलाको वडा कार्यालयमा तालाबन्दी गरेका छन् । विप्लव नेकपाका कार्यकर्ताले राति आएर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयमा तालाबन्दी गरेपछि उनीहरुले आसपासमा पर्चा फालेर गएका छन् । इलाका प्रहरी कार्यालय, बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले डेउढाकलाको वडा कार्यालयमा राति तालाबन्दी भएको जानकारी दिए । ‘राति तालाबन्दी भएको रहेछ । बिहान थाहा पाइयो ।’ प्रहरी निरीक्षक गौतमले भने । सरकारले प्रतिबन्ध लगाएपछि र केही नेतालाई ‘इन्काउन्टर’ गरेपछि आक्रोशित भएको विप्लव नेकपाले संघर्षका गतिविधिहरु गरिरहेको छ

उता कर्णाली प्रदेशको मुगु जिल्लाको खत्याड गाउँपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । गएराति गाउँपालिकाको कार्यालय अगाडी राखिएको शंकास्पद वस्तु प्रहरीले घेरा हालेको र कसैलाई आवतजावत गर्न दिइएको छैन । शंकास्पद वस्तु विप्लव समूहले राखेको हुनसक्ने आशंका गरिएको छ ।

सोमबार राति गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दीमा संलग्न रहेको भन्दै प्रहरीले २ जना विप्लव नेकपाका कार्यकर्तालाई पक्राउ गरिएको छ ।

उक्त शंकास्पद वस्तुलाई डिस्पोजलका लागि जुम्लामा खबर गरेको खत्याड गाउँपालिकाका नन्दबहादुर कार्कीले जानकारी दिए । शंकास्पद वस्तु टेपले बेरेर राखिएको छ । उक्त वस्तु बम हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार