• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानका कम्युनिस्ट नेता अहिले कृषि क्रान्तिमा (फोटो फिचर)


असार २४, सल्यान । सल्यानका कम्युनिस्ट नेता यतिबेला कृषिमा व्यस्त छन् । पुर्व एमालेका सल्यान जिल्ला अध्यक्ष भई हाल नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका नेता लोकबहादुर डाँगी अहिले आफ्नै कृषि काममा व्यस्त देखिन्छ ।

उसो त नि राजनितीमा पनि क्रियाशील छन् । बागचौर नगरपालिका ९ डाँगीगाउँ खोरबारे घर भएका उनले अहिले व्यवसायीक रुपमा कृषि गरेका छन् । डाँगीगाउँ सुन्तलाको लागि राप्ती अन्चलकै प्रमुख ठाउँ मानिन्छ ।

डाँगीले आफ्नो १६ रोपनी जग्गामा व्यवसायीक सुन्तला खेती गरेका छन् । जसमा ६ सयभन्दा धेरै सुन्तलाका बिरुवाहरु रहेको उनले लेकाली अनलाइनलाई बताए ।

२०६७ सालदेखि सुन्तला खेती गर्दै आएपनि गतवर्षदेखि व्यवसायीक रुपमा खेती गर्दै आएको उनले बताए । उनले भने, “मैले सुन्तला खेतीको लागि अहिलेसम्म ३५ लाखभन्दा धेरै व्यक्तिगत खर्च गरेको छु ।” बारी खनजोत, खाडल खन्ने, सिँचाइका ट्याङ्की निर्माण गर्ने लगाएतका काममा आफुले खर्च गरेको उनले बताए ।

त्यसैगरी गाउँमा यो बर्ष कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको ६ लाख सहयोगमा कृषि सडक पुगेको उनले बताए । उनले अबको एकदुई वर्षमा आफ्नो सबै सुन्तलाले उत्पादन दिने बताए । सुन्तालले राम्रो उत्पादन दिएका बर्षमा ४० लाखभन्दा धेरै आम्दानी गर्ने लक्ष भएको उनले बताए ।

सुन्तला सँगै उनले कागतीका बिरुवाक‍ो नर्सरी समेत संचालन गरेका छन् । नर्सरीमा अहिले ४० हजारभन्दा धेरै कागतीका बिरुवा भएको उनले बताए । अहिले कागतीका बिरुवाको अत्याधिक माग भएको उनको भनाइ छ ।

बिरुवा लिनको लागि सल्यान सँगै रुकुम, रोल्पा, गुल्मी लगाएतका ठाउँबाट मानिसहरु आउने गरेको डाँगीले बताए । यो पटक कागतीको प्रति बिरवा २० रुपैयाँले बिक्री हुने उनको भनाइ छ ।

आफुले अहिले गाउँका ४ जनालाई रोजगार समेत दिएको उनले बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, “म आफै पनि काम गर्छु र अन्य ४ जनालाई पनि नियमित रोजगार दिएको छु । कहिलेकाहीँ कामको चापमा अरु कामदार पनि थप्ने गरेको छु ।”

रोजगारी पाएकाहरुले बिरुवा रोप्ने, गोडमेल गर्ने, जग्गा खन्ने काम गर्ने उनले बताए । जग्गा अझै प्रशस्त भएको भन्दै उनले कृषिलाई अझ थप गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार