• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको मुलडाँडामा विज्ञान भवन संचालन


असार २४, सल्यान । सल्यानको शारदा नगरपालिकाको मुलडाँडास्थित शिव माविमा सुविधा सम्पन्न विज्ञान भवन निर्माण गरिएको छ । शिक्षा मन्त्रालयको १८ लाख र शारदा नगरपालिकाको १८ लाख रुपैया गरि कुल ३६ लाख रुपैयाको लागतमा ४ कोठासहितको दुईतले भवन निर्माण गरिएको हो ।

भवनको सोमबार शारदा नगरप्रमुख सुरेश अधिकारीले उद्घाटन गरेका हुन् । भवनको लागी स्थानीयले ९ लाख बराबरको जनश्रमदान गरेका छन् ।

नवनिर्मित भवनमा विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालन गरिने प्रधानाध्यापक डिल्ली हमालले बताए । ‘प्रयोगशाला नहुँदा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या थियो,’ उनले भने, ‘भवन निर्माण सकिएकाले अत्याधुनिक प्रयोगशाला स्थापनाको तयारी गरिएको छ ।’

प्रयोगशाला स्थापनापछि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्ने विद्यालयको तयारी छ । यही शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गरिने हमालको भनाइ छ । विद्यालयमा अहिले ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

भवनको उदघाटन गर्दै नगरप्रमुख सुरेश अधिकारीले शिक्षाको विकास नगरको पहिलो प्राथमिकतामा रहेको बताए । उनले राष्ट्र निर्माणका लागि सबै एक ढिक्का हुनुपर्ने र शिक्षाको बिवास विना राष्ट्र निर्माण सम्भव नरहेको स्पस्ट पारे ।

विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थी संख्या बढ्ने विद्यालयको अपेक्षा छ । नयाँ भवन निर्माण भएपछि कक्षा ११ र १२ को पठनपाठनको तयारी थालिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर कवरले बताए ।

उनले सबै सामुदायिक विद्यालयको गुणस्तर बढाउन पूर्वाधार निर्माणमा विशेष जोड दिइएको जानकारी दिए । ‘पूर्वाधार र प्रविधि थप गरी पहिलो चरणमा सबै माविलाई नमुना बनाउन लागेका छौं,’ उनले भने, ‘नगरका सबै सामुदायिक विद्यालयको गुणस्तर बढाउन गुरुयोजना निर्माण गरिएको छ, योजना कार्यान्वयनका लागि आगामी वर्ष पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

 

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार