• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

विषादी परीक्षण विवादः आँप बोकेर चितवन आएको भारतीय ट्रकमा तोडफोड


असार २६, चितवन । तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेको बेला चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड भएको छ ।

विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।

उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । ‘ती युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।’

सो ट्रकमा पाँच टन आँप थियो । ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ । चितवनकै सबैभन्दा ठूलो यो तरकारी बजारमा सीसीटीभीसमेत छैन । तर बजारको सुरक्षाका लागि सीसीटीभी जडानको प्रकृया भने अघि बढाइएको अध्यक्ष धितालले बताए ।

भारतको दबाबमा नेपाल सरकारले विषादी परीक्षण रोकेको भन्दै अहिले सर्वत्र आलोचना भैरहेको छ । यसअघि विभिन्न संगठनहरुले विषादी परिक्षण नगरे भारतिय गाडी जलाउने चेतावनी समेत दिएका थिए ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार