• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

अस्पतालबाटै शिशु चोरी भएपछि…


असार २६, विराटनगर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति एक शिशु चोरी भएको छ । प्रतिष्ठानबाट १३ दिने शिशु चोरी गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बू बिक रहेका छन्। शिशुलाई धरान–१५ बगरकोटमा फेला पारिएको थियो। उनीहरूविरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी दर्ता भएको छ ।

बच्चा जन्मिएलगत्तै वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर उनीहरूले बच्चा चोरी गरेको पाइएको प्रहरीको भनाइ छ। लिला विकका श्रीमान् भारतको दिल्ली बस्दै आएको बताइएको छ । नवजात शिशुलाई उनीहरूले भारतको दिल्ली लैजाने तयारी गरेका थिए ।

लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरणशैलीमा चोरी गरेर लगेको प्रहरीको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा पक्राउ परेकी लिलाले आफू पाल्नका लागि लगेको बयान क्रममा प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

चोरी भएको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको छोरा हो । बबिताले गत असार १३ गते छोराको जन्म दिएकी थिइन् ।

आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूको वार्डमा नै राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । लिला विक वार्डमा कुरुवाजस्तो भएर बस्दै आएकी थिइन्। राति वार्डका सबै निदाएको बेला बच्चा चोरी भएको थियो ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार