• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

नेपालगञ्जबाट ६६ यात्रु बोकेर उठेको बिमान त्रिभुवन विमानस्थलमा चिप्लियो


असार २७, काठमाडौं । लगातारको बर्षाका कारण यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ।

नेपालगञ्जबाट ६६ जना यात्रु र ४ जना चालक दलका सदस्य बोकेर काठमाण्डौं पुगेको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा अबतरण गर्ने क्रममा चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ।

कोटेश्वरतर्फको प्रबेशबिन्दुबाट अबतरण गर्ने क्रममा बिमान चिप्लिंदा दुईजना यात्रु घाइते भएको बिमानस्थलका एक अधिकारीले जानकारी दिए । उनीहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्याइएको छ। अन्य यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन्।

यसैबिच त्रिभुवन विमानस्थल सवा २ बजेसम्मका लागि बन्द गरिएको छ । सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। त्यसपछि पनि चिप्लिएको विमान निकाल्न केही समय लाग्ने भएपछि नोटामको समय थप गरिएको हो। चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ।

विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो। अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए।

काठमाडौं आउँदै गरेका नौ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् भने काठमाडौंबाट उडान हुनुपर्नेदशवटाको उडान स्थगन भएको छ। हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्‍को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ।

विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

ती ड्युटी अफिसरका अनुसार चाइन एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन्। नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्लीडाइभर्ट गर्ने तयारी गरेको छ। बर्षाका कारण राजधानी बाहिरका सबैजसो बिमानस्थल बन्द भएका छन्।

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार