• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बाढी-पहिरोमा परी अहिलेसम्म देशभर १७ जनाको मृत्यु, ७ बेपत्ता


असार २७, काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरीमा १७ जनाको मृत्यु भएको छ । पहिरोमा परि ७ जना बेपत्ता र ७ जना घाईते भएका छन् ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

यस्तै रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो ।

भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ । यता ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पर्सामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेल रहेका छन् ।  यसैबीच मकवानपुरमा पनि एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका – ३ की बालिका सञ्चना बलामी रहेकी छन् ।

यस्तै अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका हुन् ।  मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि केन्द्र, प्रदेश मातहतमा रहेका सबै जनशक्ति परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले आज दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । काठमाडौंमा भोलिसम्म नै वर्षा हुने भएकोले बाढीको जोखिम उच्च रहेको विभागले जनाएको छ ।

“काठमाडौंका बागमती, विष्णुमती, बल्खू खोला, नख्खू, हनुमन्ते, मोहना, धोवि खोला लगायत सवै खोलानाला र होचा भुभागमा उच्च सतर्कता अपनाऔं“, विभागले भनेको छ ।  वर्षाका कारण वाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन् । विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ ।

यही समयमा मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ ।

पढ्नुहोस्, केन्द्रबाट जारी वर्षातको समयमा अपनाउनुपर्ने सतर्कता रअत्यावश्यक सुरक्षाका उपायबारेको जानकारी

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार