• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

बाँध नै फुट्न थालेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो


असार २९, काठमाडौँ । अविरल वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएर बाँध नै फुट्न लागेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।  शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।

पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको छ। सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ ।

भारतको बिहार जलमग्न भएपछि भारतले शनिबार दिउँसो ढोका बन्द गर्न दबाब दिइरहेको थियो । तर पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको भण्डारीले बताए।

एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएको थियो । त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरनतर परिरहेकाले कोशीको शनिबार जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानै देखी घट्ने क्रममा रहेको छ।

पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खुला भएको सशस्त्र प्रहरी बल भण्टावारीका प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीले जानाकारी दिए। सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार