• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

कोशी ब्यारेजमा खोलिएका ढोका भारतको दबाबपछि अहिले बन्द गरिदै


असार २९, काठमाडौं । कोशी ब्यारेजका ढोका फेरि बन्द गर्न लागिएको छ । कोशी ब्यारेजको पुललाई खतरा पुर्याउने अवस्था सिर्जना भएपछि गएराति खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउनासाथ फेरि बन्द गर्न थालिएको हो । १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराति १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका प्राविधिकहरुका अनुसार पानीको बहाव बढेर ब्यारेज नै ड्यामेज हुने खतरा बढेपछि भारतीय पक्षले नै सबै ढोका खोलेको हो । निरन्तर बढ्दो बहावसँगै कोशीको पानीले पुलको माथिल्लो भाग छुँदै गर्दा सम्भावित जोखिमबाट पुललाई जोगाउन र बहावको सन्तुलन मिलाउन ५६ वटै ढोका खोल्नुपर्ने अवस्था आएको भारतीय प्राविधिकहरुले बताएका छन् ।

तर आइतबार बिहान कोशीका सबै ढोका नखोल्न भारतले दबाब दिएको नेपालका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।  बिहार जलमग्न भएको भन्दै भारतले शनिबार देखि नै ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

रातिबाट खोलिएका ५६ वटा ढोका आज बिहानबाट क्रमश बन्द गर्न थालिएको छ । कोशीको बहाव पछिल्लो मापन अनुसार घटेर २ लाख ९० हजार ३ सय ४० क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । चतरामा समेत पानीको बहावमा कमी आएको छ । कोशी ब्यारेज प्रहरीका अनुसार बहावको सन्तुलन मिलाउँदै भारतीय पक्षले यसअघि खोलिएका ढोका क्रमश बन्द गर्दै गएको हो ।

कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ को बाढीको समयमा कोशीको बहाव ९ लाख १३ हजार क्यूसेक प्रतिसेकेण्ड पुग्दा ब्यारेजका सबै ढोका खोलिएका थिए ।

यो पनिः बाँध नै फुट्न थालेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार