• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

वर्षा सुरु भएसँगै सल्यानका ग्रामीण सडक बन्द, दर्जनौं बस राजमार्गमै थन्किए


असार ३०, सल्यान । वर्षयाम सुरु भएसँगै सल्यानमा दर्जन भन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाका ग्रामीण बजार तथा गाउँमा पुग्ने दर्जन बढी कच्ची सडकहरु पहिरो, खाल्डाखुल्डीका कारण अवरुद्ध भएका हुन् ।

जिल्लामा अहिले बाह्रै महिना गाडी चल्ने पक्की सडकको रुपमा कपुरकोट देखि रुकुमको सिमाना खौलासम्म रहेको राप्ती राजमार्गलाई मानिन्छ । त्यसबाहेक राप्ती राजमार्गको श्रीनगरबाट खलंगा हुँदै मार्केसम्म पनि कालोपत्रे सडक छ । यी रुढमा मात्रै अहिले सजिलैसँग गाडी गुड्ने गरेको संयुत्त यातायात काउन्टरका डायल इन्चार्ज सुनिल थापाले लेकाली अनलाइनलाई बताए ।

थापाका अनुसार राप्ती राजमार्गबाट ग्रामिण ठाउँमा जोडिएका दर्जन बढी सडकहरुमा बस जान बन्द भएको छ । जसमा शंकमुल–भिम्पे, शंकमुल–कारागीठी, लान्ती–लेखपोखरा–दहखोला, रामेखोला–कजेरी, ढोरचौर–गुरुदासे–तिमीले, मोख्ला–दमाचौर–रोल्पा झ्याम–सुकाओडार, बागचौर–कोटमौला–पातिहाल्न, खरिबोट–कोटबारा–बाफुखोला, रारेचौर–दार्माकोट र सिमखोली–अरबारे सडक अबरुद्ध भएको इन्चार्ज थापाले बताए ।

त्यस्तै खलंगा देखि बालुवासंग्रही–सुर्खेत जाने सडक पनि अबरुद्ध भएको छ । खलंगाबाट मार्केसम्म सडक राम्रो भएपनि त्यस उता हिवल्चा, लक्ष्मीपुर, कालिमाटी जाने सडक पनि वर्षाले अवरुद्ध भएको छ ।

यता थारमारेबाट मौलाहाल्ने सम्म सडक राम्रो भएपनि त्यस उता रागेचौर–चौरजहारी, फारुला–नेटाबजार जाने सडक पनि अबरुद्ध भएको छ । यी सडकमा यसअघि नियमित दैनिक २१ वटा बस संचालन हुँदै आएको डायल इन्चार्ज थापाले लेकाली अनलाइनलाई जानकारी दिए । अहिले यी सबै गाडी राजमार्गसम्म मात्रै पुग्ने गरेका छन् ।

जिल्लामा सडक खन्नेको बाढी नै आएपनि वर्षाको समयमा भने निकै कम सडकमा मात्र गाडी गुड्ने गरेको छ । सडक स्तरोन्नति हुन नसक्दा वर्षा लाग्ने बित्तिकै ग्रामीण क्षेत्रका जनता यातायातको पहुँचबाट विमुख छन् । सडक निर्माण तथा स्तरोन्नति गर्न भन्दै करोडौं बजेट विनियोजन हुने गरे पनि सडकको स्तरोन्नति हुन सकेको छैन ।

तस्बिरः गतबर्षको, बागचौर-पातिहाल्न सडक

 

प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार