• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

नेकपा सल्यानका जिल्ला कमिटी सदस्यले शपथ लिए


असार ३१, सल्यान । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानको जिल्लाका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पार्टीको एकता भएको झण्डै एक वर्षपछि पूर्णता पाएको जिल्ला कमिटी सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका हुन् ।

नेकपा सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा खलंगामा भएको शपथ ग्रहण तथा प्रथम बैठकमा नेकपाका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैठकको संचालन सचिव कर्ण बहादुर बुढाथोकीले गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका प्रदेश अध्यक्ष गोरख बहादुर बोगटीले पार्टीलाई एकढिक्का बनाएर लिने बताएका छन । उनले पार्टीलाई सबै तहसम्म एक बनाएर लिने अभियानमा लागेको बताएका हुन । कार्यक्रममा पार्टीका नेता माया प्रसाद शर्मा, टेक बहादुर बस्नेत, प्रकाश ज्वाला र गुलावजंग शाहले पनि सम्बोधन गरेका थिए ।

बैठकमा पार्टीका प्रदेश कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो । जिल्ला स्तरमा एकता भैसकेपछि सवै नेता कार्यकर्ताहरुलाई मिलाएर अघि वढ्ने नेतृत्वकर्ताहरुले प्रतिबद्धता जनाएका छन् ।

बैठकमा सपथ ग्रहणका साथै पार्टीको स्थानिय संगठन बनाउन खाका तयार गर्ने, दुवैपार्टीको कार्यालय व्यवस्थापना, एकताको सन्देश सबै तहसम्म लिने, सबै तहका सरकारसंग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको बताइएको छ । पार्टीको जिल्ला कमिटिी बैठक भनिएपनि नेताहरुले मात्रै सम्बोधन गरेको र जिल्ला सदस्यहरुले सपथ मात्रै लिएको एक नेताले बताए ।

नेकपा सल्यानको कमिटी १ सय ३५ सदस्यको छ । नेकपाका कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले पूर्वएमालेबाट ६७ जना र पूर्व माओवादीबाट ६८ जना गरी कुल १ सय ३५ जना सदस्यलाई एकसाथ शपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति : २०७६ असार ३१ गते मङ्गलवार