• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानको छत्रेश्वरीमा सडकको ठेक्कापट्टा हरायो, आफ्नै डोजरले काम गर्दा खर्च तिनगुणा कम


साउन ३, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीकाले स्काभेटर खरिद गर्नको लागी एक करोड बजेट छुट्टयाएको छ । आर्थिक वर्ष २०७६/०७७ को लागी छत्रेश्वरी गाउँपालिकाले ३६ करोड ३४ लाख १४ हजार रुपैयाँ बराबरको बिनियोजित बजेट मध्य स्काभेटर खरिद गर्नको लागी मात्र एक करोड बजेट छुट्टयाएको हो ।

गाउँपालिकामा अन्य एउटा इकाभेटर र दुईवटा डोजर रहेका छन् । अब खरिद गर्न लागेको इस्काभेटर सँगै अब छत्रेश्वरी गाउँपालिकाको आफ्नै ४ वटा डोजर र इस्काभेटर हुनेछन् । आफ्नै स्थानीय श्रोत साधनमा कम खर्च गरेर काम गर्ने भन्दै स्काभेटर खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ । आफ्नै मेसिन हुँदा छत्रेश्वरीमा सडकको ठेक्कापट्टा भने गतबर्ष देखिनै हराएको छ ।

आफ्नै साधन प्रयोग गर्दा तिन गुणा काम खर्च 

अहिले छत्रेश्वरीमा संचालनमा रहेका एउटा स्काभेर, दुईवटा डोजर र एउटा टिप्परले गाउँपालिका भित्रको विकास निर्णमाणका काम गरिरहेका छन् । प्राय यी मेसिन सडक खन्नमा प्रयोग हुने गरेका छन् ।

गाउँपालिका भित्रका विभिन्न ग्रामिण सडकको स्तर उन्नती र नयाँ कटिङको लागी यी मेसिन प्रयोगमा आउने गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले लेकाली अनलाइनलाई बताए । उनका अनुसार सामान्य काम देखि ठुला काम सम्म पनि ठेक्कापट्टाको लागी टेन्डर आह्वान गर्नु पर्दैन् । गाउँपालिका आफैले चालक र सहचालकलाई मेसिन लिएर सडक खन्न पठाउछ ।

गत आर्थिक बर्ष छत्रेश्वरी गाउँपालिकाले खंकमुल देखि काँरागीठी तुसारेसम्म २३ किलोमिटर सडक खन्यो । जुन सडकको चौडाई ८ मिटर रहेको छ । जसमा गाउँपालिकाले आफ्नो एउटा इस्काभेटर र डोजर प्रयोग गर्याे ।

५० लाख बराबरको रकममा काम सम्पन्न भयो । उक्त सडकको मुल्याङ्कन गर्दा एक करोड ५० लाख भन्दा धेरैको काम भएको प्रशासकिय अधिकृत खड्काले बताए । उनका अनुसार स्थानीय सरकारले खनेको सडकमा डिलक्स बस जाने सडक जिल्लामै एकमात्र खंकमुल–तुसारे सडक बनेको छ ।

त्यस्तै छत्रेश्वरी मन्दिर सम्मको ४ किलोमिटर सडक पनि गाउँपालिकाले आफ्नै मेसिन प्रयोग गरेर खनेको उनले बताए । यो सडकको चौडाई १२ मिटर रहेको छ । १ करोड जतिको काम भएपनि गाउँपालिका आफैले गर्दा २० लाख जति खर्च भएको उनले बताए ।

धेरै विकास गर्नको लागी डोजर–इस्काभेटर खरिद गरिएको होः अध्यक्ष

छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले गुणात्मक रुपमा काम धेरै गर्नको लागी मेसिनरी सामान खरिद गरिएको बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले गाउँपालिका भित्र केही वडाहरु विकट भएको र थुप्रै विकास गर्नुपर्ने भएकोले आफ्नै श्रोत साधनबाट काम गर्न लागिएको बताए ।

उनले भने, “हामी ठेक्कापट्टाबाट काम गर्ने हो भने करोडौँ पैसा सकिन्छ, काम पनि राम्रो हुँदैन्, तर आफ्नै मेसिन प्रयोग गरेर गर्दा थोरै खर्चमा धेरै काम हुन्छ ।” सामान्य सडक मर्मत तथा विद्यालयको फिल्ड निर्माणको लागी पनि गाउँपालिकाकै डोजरले काम गरिरहेको उनको भनाई छ ।

ठुला योजनाका काममा शंकमुल–तुसारे, शंकमुल–छत्रेश्वरी मन्दिर काम सम्पन्न भैसकेको र अहिले शंकमुल–भिम्पे खर्सुबास सडकको काम भैरहेको उनले बताए । गाउँपालिका भित्रको सबैभन्दा महत्वपुर्ण सडक लान्ती–लेखपोखरा–दमाचौर सडकलाई भने एडिवीको सहयोगमा कालोपत्रे हुने योजना भएको उनको भनाई छ ।

३६ करोड बढीको बजेट आयो

छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागी ३६ करोड ३४ लाख १४ हजार रुपैयाँ बराबरको बिनियोजन गरेको छ । गाउँपालिकाको कार्यपालीकाले इस्काभेटर खरिद सँगै शिक्षा र भौतिक पूर्वाधार विकासलाइ प्राथमिकतामा राखेर बजेट पास गरेको छ ।

गाउँपालिकाका अध्यक्ष केसिले प्रस्तुत गरेको बजेटमा शिक्षा अन्तरगत शैक्षिक जनशक्ति ब्यबस्थापन, पुर्बाधार बिकास, क्षमता विकास र खेलकुद कार्यक्रमलाई लक्षित गरि २ करोड २४ लाख बजेट रहेको छ । पुँजिगत विकास खर्च अन्तरर्गत ११ करोड १५ लाख ९० हजार, शसर्त कार्यक्रम अन्तरर्गत १५ करोड ५ लाख र प्रशासनिक तथा सन्चालन खर्चतर्फ १० करोड १३ लाख २४ हजार बिनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्य अन्तरर्गत चेतनामूलक कार्यक्रम , उपचरात्मक सेवा प्रवाह, एक वडा एक बर्थिङ सेन्टर स्थापना, एम्बुलेन्स खरिद तथा मेसिनरी औजार खरिद अन्तरर्गत ७१ लाख बिनियोजन गरिएको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि र कृषि तालिम र अनुदानको लागि ३४ लाख र पशुपालनका लागि व्यावसायिक प्रबर्दनका लागि ३४ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालीकाले सबै वडाहरुमा खानेपनि बिस्तार गर्ने र पन्नेताल, लेखपोखरा, ज्यामिरे, दमाचौर, लान्तीमा संचालन भएका बहुबर्षिय योजनाको क्रमागत संचालनका लागि १ करोड ४५ लाख बिनियोजन गरिएको गाउँपालीकाले जनाएको छ ।

यस्तै गुराँसे युद्ध पर्यटकिय क्षेत्र बिकास, छत्रेश्वरि मन्दिर , खड्कदेबि मन्दिर धार्मिक पर्यटन प्रबर्द्धनका लागि १ करोड ४५ लाख बिनियोजन गरेको छ । वडाबाट छनौट भएका शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक पुर्बाधार, महिला, दलित ,आदिवासी ,जनजाती, मुस्लिम समुदाय, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग , महिलाको क्षेत्रका लागी भनेर ४ करोड ३ लाख बिनियोजन गरिएको छ ।

छत्रेश्वरी गाउँपालिकाले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ९३ लाख ,ससर्त अनुदान अन्तर्गत १५ करोड ५ लाख, कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तर्गत रु १ करोड ४६ लाख राजस्व बाडफाड बाट ७ करोड २८ लाख गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख राजस्व बाडफाड ७ लाख ६८ हजार र आन्तरिक आम्दानी ३० लाख गरि उक्त बजेट ल्याएको हो ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार