• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा खर्च गर्न नसकेर ५१ करोडभन्दा बढी रकम फ्रिज


साउन ५, सल्यान । सल्यानमा आर्थिक वर्ष २०७५/०७६ मा ५१ करोड बढी रकम फ्रिज भएको छ । कुल ४ अर्व २६ करोड ३९ लाख ३ हजार ७ सय ४८ रुपैयाँ विनियोजन भएको सल्यानमा ५१ करोड ३४ लाख ६५ हजार ५ सय ४९ रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको हो । फ्रिज भएको रकम प्रदेश र संघको मात्रै हो भने स्थानीय तहको प्रतिवेदन अझै आइसकेको छैन् ।

फ्रिज हुनेमा सबैभन्दा धेरै कर्णाली प्रदेश मातहत रहेको पूर्वाधार कार्यालयको रहेको छ । पूर्वाधार कार्यालयले सल्यानका २० वटा योजनाका लागि २५ करोड ७५ लाख बजेट विनियोजन गरेकोमा ४३ लाख मात्र रकम खर्च गर्न सफल भएको छ भने बाँकी सबै फ्रिज भएको छ ।

यस्तै प्रदेशबाट ५८ करोड ८३ लाख ८६ हजार १ सय २७ रुपैयाँ बजेट विनियोजन भएकोमा ४१ करोड १३ लाख ६७ हजार ५ सय ३ रुपैयाँ मात्रै खर्च भएर १७ करोड ७० लाख १८ हजार ६ सय २३ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।

त्यसैगरी संघ सरकार मार्फत विनियोजन भएको ३ अर्व ४३ करोड ८० लाख ७ हजार ६ सय २१ रुपैया मध्य ७ करोड ८९ लाख ४६ हजार ९ सय २७ रुपैया बजेट फ्रिज भएको छ । यसमा ३ अर्व ३५ करोड ९० लाख ६० हजार ६ सय ९४ रुपैया खर्च भएको छ ।

फ्रिज हुनेमा सबैभन्दा बढि रकम प्रदेशको रहेको छ । प्रदेशले विनियोजन गरेको रकममा जलस्रोत तथा सिचाई विकास भिडिजन कार्यालय, डिभिजन वन कार्यालय, लेखा इकाई कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बजेट बढी फ्रिज भएको छ ।

यसैबिच जिल्लाका १० वटै स्थानीय तहले आर्थिक वर्ष सकिएर एक हप्ता पुगिसक्दा समेत चौमासिक प्रतिवेदन बुझाएका छैनन् । असारको २४ गतेसम्म बुझाईसक्नु पर्ने प्रतिवेदन दुई हप्ता बितिसक्दा समेत खर्च प्रतिवेदन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।

दार्मा गाउँपालिकाले ९२ लाख रकम फिर्ता गरेपनि प्रतिवेदन भने नबुझाएको कार्यालयका सूचना अधिकारी वृद्धि बस्नेतले बताए । पटक पटक प्रतिवेदन बुझाउन ताकेता गरेपनि कुनै पनि तहले प्रतिवेदन नबुझाएको उनले बताए । असार २४ पछिको खर्च विवरण बरुजु हुने बस्नेतको भनाई छ।

 

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार