• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा यो बर्ष खोटोबाट साढे ३ करोड आम्दानी


साउन ६, सल्यान । सल्यानमा सल्लाको खोटोबाट यो बर्ष साढे ३ करोडभन्दा बढी आम्दानी भएको छ । जिल्लाका विभिन्न ठाउँमा भएका सल्लाबाट संकलन गरिएको खोटोबाट यो बर्ष ३ करोड ६० लाखभन्दा धेरै आम्दानी भएको हो ।

६ सय भन्दा धेरै सामुदायीक वन रहेको सल्यानमा ४ सय जति सामुदायीक वनबाट खोटो संकलन गरिदै आएको छ । यी वनबाट संकलन गरिएको खोटोबाट ३ करोड ६० लाख आम्दानी भएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार यो बर्ष जिल्लामा १ लाख ५० हजारभन्दा धेरै टिन खोटो उत्पादन भएको  थियो । बजारभाउ अनुसार प्रतिटिन २ सय ४ रुपैयाँमा बिक्रि भएको उनले बताए ।

तर विस्तारै खोटोको माग भने घट्दै गएको उनको भनाई छ । पहिलेजस्तो खोटोको माग नभएको कारण संकलन गर्ने कम्पनी पनि विस्तापित हुन थालेको उनले बताए ।

खोटोलाई कागज चिल्लो पार्न, पेन्ट्स गर्न, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग गर्न, श्रृंगारका सामाग्री, रंग–रोगन, रबर, पोलिस, लिनोलियम, बिस्फोटक पदार्थहरू, किटनाशक, विजघ्न पदार्थ, खानिज उत्पादन, इलेक्ट्रोनिक्सको सोल्डर गर्दा प्रयोग गरिन्छ । केहिले सडक कालोपत्रे गर्दा पनि खोटोलाई आगोमा पगालेर प्रयोग गर्ने गर्छन् ।

साथै डिभिजन वन कार्यालयले खोटो बिक्रिबाट १३ प्रतिशत भ्याट रकम उठाउदा ४० लाख राजश्व संकलन भएको जनाएको छ । अन्य आम्दानी भएको रकम भने सम्बन्धीत वन उपभोक्ता समितीले राख्ने गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार