• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

जीर्ण सडकले सल्यानमा दुर्घटना बढ्दो : एक वर्षमा १८ जनाको मृत्यु, १ सय ७८ घाइते


साउन ६, सल्यान । सल्यानमा जीर्ण सडकको कारण बर्षेनी दुर्घटना बढदै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालय सल्यानका अनुसार जिल्लामा संचालित सडक तथा राजमार्ग जीर्ण, साघुँरो र खाल्डाखुल्डी भएकोले दुर्घटना बढेको हो ।

सल्यानमा आर्थिक बर्ष २०७५/०७६ मा सवारी दुर्घटनामा परेर मात्रै १५ जनाले ज्यान गुमाएका छन् । २०७५ साउन देखि २०७६ असार मसान्तसम्मको एक बर्षे अबधीमा १ सय १ सवारी दुर्घटनामा गरि १८ जनाले ज्यान गुमाएका हुन् । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा भने सल्यानमा २० जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा ज्यान गुमाउनेमा १३ जना पुरुष, ४ जना महिला र एक जना बालकले रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा २५ जना सक्त र १ सय ५३ जना सामान्य गरी १ सय ७८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटना भएका सवारीमा ४५ वटा मोटरसाइकल, १९ वटा जीप, १७ वटा ट्रेक्टर, ११ वटा बस र ९ वटा ट्रक रहेका छन् । तीव्र गति, ट्राफिक नियम उंलघन, मादक पदार्थ सेवनलगायत कारणले पनि दुर्घटना बढेको जिल्ला ट्राफिक प्रमुख ज्ञानेन्द्र शर्माले बताए ।

दुर्घटना कम गर्न सचेतनामूलक कार्यक्रम

दुर्घटना न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । जोखिमयुक्त सडकमा सूचना बोर्ड टाँस गरिएको प्रहरीको भनाइ छ । ‘गत वर्षको तुलनामा यस वर्ष ठूला घटना बढी भएका छन्,’ शर्माले भने, ‘सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।’

उनले ठूला गाडीले बढी रकम आम्दानी गर्ने लोभमा तीव्र गतिमा सञ्चालन गर्दा दुर्घटना बढेको बताए । यात्रुबाहक गाडीले क्षमताभन्दा बढी यात्रु र सामान राख्दा पनि दुर्घटनाको जोखिम बढेको उनले बताए ।

उनले विद्यालयमा समेत सचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गरिएको जनाए । नियम उल्लंघन बढेसँगै राजस्व पनि बढेको प्रहरीको भनाइ छ ।

५६ लाख ५५ हजार राजस्व संकलन

सल्यानमा आर्थिक वर्ष २०७५/०७६ मा नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सल्यान अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष एक लाख ७५ हजार बढि राजस्व सवारी कारबाहीबाट उठेको छ । अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक (सई) जगदिश ऐरले जानकारी दिए ।

उनका अनुसार २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढि मोटरसाइकल कारवाहिमा परेका छन् । ३४५० मोटरसाइकललाइ कारवाहि गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रसनि ऐरले जनाए ।

यस्तै १६४१ ट्रक कारवाहिमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयां संकलन भएको छ । यस्तै १३२१ बसलाय कारवाहि गर्दा ७ लाख ३५ हजार, २१५५ जीप तथा कारलाइ कारवाहि गर्दा एक लाख ४० हजार पाँच सय र १३९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको उनले जनाए ।

अघिल्लो आर्थिक वर्ष १० हजार तीन सय सवारि साधन कारवाहिमा परेकोमा आ.व ०७५।०७६ मा नौ हजार नौ सय ५८ यातायातका साधन कारवाहिमा परेका छन् । सबै भन्दा बढि असारमा ११०८ सवारिसाधन कारवाहिमा परेका छन् भने सबैभन्दा बढि राजस्व पुष महिनामा पाँच लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ ।

प्रसनि ऐरले जिल्लाको कपुरकोटबाट सबैभन्दा बढि राजस्व संकलन भएको जनाए । दोश्रोमा श्रीनगरबाट बढि राजस्व उठेको छ भने सबैभन्दा कम सल्लीबजारबाट राजस्व संकलन भएको छ । सवारि चलाउँदा मापसे गर्ने एक सय १८ जनालाइ कारवाहि गरिएको उनले बताए । तर कसैको पनि चालक अनुमतीपत्र (लाइसियन्स) प्वाँल नपारिएको उनले जनाए ।

 

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार