• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यान सहित २२ जिल्लामा सरकारी गाडीमाथि प्रतिबन्ध लगाउने विप्लव नेकपाको घोषणा


साउन ७, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मध्यपश्चिम कमाण्डले सल्यान सहित २२ जिल्लामा सरकारी गाडी गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । केहिदिन अघि उक्त पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले सार्वजनिक गरेको विज्ञप्तीमा आज साउन ७ गतेदेखि आफ्नो मध्यपश्चिम कमाण्ड भित्रका जिल्लामा सरकारी सेतो नम्बर प्लेटका गाडी गुड्नमा प्रतिवन्ध लगाउने घोषणा गरिएको छ ।

विप्लव नेकपाको संरचण हेर्दा यस कमाण्ढ अन्तर्गत गण्डक, धौलागिरी, लुम्बीनी र राप्ती ब्युरो पर्दछन् । जसमा गोरखा, कास्की, लमजुड, तनहुँ, मनाड, कपिलवस्तु, नवलपरासी, नवलपुर, रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, बागलुड, म्याग्दी, पर्वत, मुस्ताङ, दाङ, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम र सल्यान गरी २२ जिल्ला रहेका छन् ।

पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध सेतो नम्बर प्लेट भएका सम्पूर्ण  सरकारी गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पार्टीको निर्णयका विरुद्ध कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने चेतावनी दिंदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई पार्टीको सोही निर्णय अनुसार अगाडी बढ्नसमेत वक्तव्य मार्फत् निर्देशन दिइएको छ ।

विज्ञप्तीमा भनिएको छ, “जनताको गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने, उता कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् ।”

जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको आरोप लगाउदै विप्लव नेकपाले आगामी दिनमा ती सबै हर्कतहरु बन्द भनेको छ ।

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार