• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

निर्मला प्रकरणः गुहमन्त्री भन्छन् ‘अन्य देशमा पनि सबै अपराधी कठघरामा आउदैनन्’


साउन ८, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको घटना कुनै नौलो नभएको अभिव्यक्ती दिएका छन् । मंगलबार मन्त्रालयको एक वर्षको कार्यसमीक्षा सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ती दिएका हुन् ।

उनले १३ वर्षपछिसमेत प्रहरीले फरार अपराधी समातेको उदाहरण दिँदै उनले विकसित देशमा पनि शतप्रतिशत अपराधी कानुनी कठघरामा नआउने बताए । उनले भने, ‘हिजोको सरकारले पनि आफ्ना पालामा भएका कैयन् केसलाई कानुनी कठघरामा ल्याउन सकेनन् ।’

नेपालमा यस्ता खालका घटना पहिले पनि भएको र भोलीका दिनमा पनि हुने भएकोले कुनै नयाँ नभएको बताएका हुन् । उनले भने, ‘निर्मला घटनाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध गर्न सक्दैनौं ।’ गृहमन्त्री थापाले निर्मला प्रकरणलाई राजनीतिक गरिएको बताएका छन् ।

गतवर्ष साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धान निष्कर्षमा र्पुयाउन नसकेको तथ्य बचाउ गर्दै थापाले प्रविधिले सम्पन्न अमेरिकामा पनि केही घटनाको अनुसन्धान निष्कर्षमा नपुग्ने बताए ।

गृहमन्त्रीले यसअघि पनि निर्मला पन्त प्रकरणमा संसद्मा झूटो अभिव्यक्ति दिएका थिए । प्रकरणको पाँचौं दिन घटनामा संलग्न भन्दै जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परिसकेको बताएका थिए ।

शंकाका आधारमा पक्राउ परेकालाई मुख्य अभियुक्तझैं प्रस्तुत गरे पनि उनको दाबी अनुसन्धानबाट पुष्टि हुन सकेन । एक जना मानसिक सन्तुलन ठीक नभएका र अर्का यौनरोगी रहेको खुल्यो । घटनामा संलग्नता पुष्टि नभएपछि दुवै छुटे ।

 

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार