• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

मालपोत कार्यालय सल्यानमा ३ जना मात्रै कर्मचारी, रित्तो हात फर्किन्छन् सेवाग्राही


साउन ९, सल्यान । जिल्ला मालपोत कार्यालय सल्यानमा कार्यालय प्रमुखसहितका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । जसले गर्दा आजभोली मालपोत कार्यालयमा आउने धेरै सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।

एकातिर कार्यालय प्रमुख विहिन अर्को तिर ३ जना मात्र कर्मचारी हुँदा कार्यालयबाट हुने सेवाप्रवाह छिटोछरितो हुन सकिरहेको छैन् । १३ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले ३ जना मात्र रहेको कार्यालयका खरिदार दिपक बुढाथोकीले बताए ।

एक जना सुब्बा र दुइ जना खरिदारको भरमा कार्यालय सञ्चालन भइरहेको उनको भनाई छ । उनले भने, ‘आफुले मोठ काट्ने, रजिस्टेशनको काम कम्युटर , प्रशासन देखी इस्टोरको काम समालेका छु  । कार्यालयको आन्तरिक काम गर्ने की सेवाग्राहीको काम गर्ने निकै समस्या हुने गरेको छ ।’

कर्मचारी समायोजन, तथा दुर्गम जिल्लामा कर्मचारी आउन नमानेका कारण कर्मचारीको अभाव भएको उनको भनाई छ । मालपोत अधिकृत विगत दुई हप्तादेखि नहुँदा मालपोतको कामकाजमा समस्या देखिएको हो । कायम मुकायमा मालपोत अधिकृतको अवकास पछि मालपोत कार्यालय प्रमुख विहिन भएको छ ।

आफ्नो श्रीमानको नाममा भएको जग्गा नामसारी गर्नको लागी दुई दिन लगाएर सदरमुका आएकी दार्मा गाउपालिका वडा नंं २ की ६८ वर्षकी हिमादेवी चन्दले कार्यालय प्रमुख नहुँदा काम नै नभएर रित्तो हात घर फर्किएको बताइन् ।

यस्तै वन्गाड कुपिण्डे नगरपालिका वडा न २ का ७२ वर्षिय नोखे कामी पनि आफ्नो बावुको नाममा भएको जग्गा नामासारी गर्ने र नामसारी गरेपछि आफ्ना छोराहरुलाई अंशवण्डा गरीदिने योजनाका साथ बर्षायामको समयमा मालपोत कार्यालयमा आईपुगे । कार्यालयमा आउँदा कार्यालय प्रमुख नभएपछि निरास हुदै उनी पनि घर तिर फर्किए ।

मालपोत कार्यालय सल्यानमा विशेष गरी नामसारी, घर कायम ,संशोधन, लगायत मुद्धाले गर्ने कामकाजमा प्रत्यक्ष असर परेको मालपोत कार्यालयम सल्यानका नायव सुब्बा शोभाकर न्यौपानेले वताए । उनले भने ‘मालपोत कार्यालयमा पहिले देखिनै कर्मचारीको समस्या थियो नै अहिले  कार्यालय प्रमुख नहुँदा मुद्धाका सम्पूर्ण कामकाज रोकिएका छन् ।’

कायम मुकायम मालपोत अधिकृत हुदाँनै विभागमा कार्यालय प्रमुखको माग गरे पनि अहिले सम्म  कार्यालय प्रमुख नआएको न्यौपानेले वताए । उनले भने ‘मालपोत कार्यालयमा सबैभन्दा धेरै नामसारी, घर कायम लगायतका काममा सेवा ग्राही आउने गर्दछन् तर कार्यालय प्रमुख नहुँदा अरुलाई काम गर्ने अक्तियारी छैन जसका कारण सेवाग्राही काम नै नगरी फर्किन बाध्य छन् ।’

जनताले प्रत्यक्ष सेवा लिने कार्यालय मध्य मालपोत कार्यालय पनि एक हो  ।  सेवाग्राहीको धेरै भिड हुने कार्यालय मध्येको मालपोत कार्यालयमा प्रमुख र प्रयाप्त कर्मचारी नहुँदा सेवाग्राही निरास बन्दै गई रहेका छन् ।

 

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार