• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

‘रअ’ का प्रमुखलाई भेटेको भए प्रमाण ल्याउनुहोस् : सञ्चारमन्त्री बास्कोटा


साउन ९, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘रअ’ का प्रमुखले प्रधानमन्त्री ओलीलाई नभेटेको दाबी गरे ।

मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने तथ्य प्रमाणसहित आउन आग्रह गरे । ‘रअ’का प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको प्रश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटको हामीलाई थाहा छैन । रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन । हल्ला फैलाउने काम नगरौं ।’

ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको उनले बताए । उनले अघि भने, रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि । यस्तो लघुताभाषी मान्यता पनि नराखौं ।’

केही बानी परेकाहरुले भेटेको भए त्यो आफूहरुलाई थाहा हुने कुरा नहुने भन्दै उनले भने, ‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान् ।’ उनले कसैलाई भेट्दैमा उसको पक्षधर भइनहाल्ने पनि बताए ।

‘फेरि भेट्नै नहुने भन्ने पनि हैन । जसलाइ भेट्यो त्यही बन्ने भन्ने पनि हैन नि’ उनले भने, ‘फ्रान्सको आउलन, त्यसलाइ भेट्दा त्यही हुने, कहिले चाइनाको आउलान्, उसलाइ भेट्दा त्यही बन्ने भन्ने त हुँदैन नि ।’

शनिबार नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर प्रमुख गोयल प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुलाई भेटेर सोमबार स्वदेश फर्किएको सञ्चारमाध्यममा  समाचार आएका थिए ।

 

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार