• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

भारतीय ट्रकले ठक्कर दिँदा विराटनगरमा मोटरसाइकल चालकको मृत्यु भएपछि…


साउन ९, विराटनगर । भारतीय ट्रकको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु भएपछि नेपाल-भारत सीमा क्षेत्र रानीमा तनाव भएको छ। ट्रकको ठक्करबाट विराटनगर महानगरपालिका-१५ का २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि सीमा क्षेत्रमा तनाव भएको हो।

एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए। भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको खिउजुको भनाइ छ।

सिंहको शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ। लहरीका चालक फरार छन्। मोटरसाइकल चालक सिंहको मृत्युपछि स्थानीयले सवारी साधन सञ्चालनमा अवरोध गरेका छन्।

मृतकका बुवा श्रवण सिंहले तीव्र गतिको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा छोरा गुमाउनुपरेको गुनासो गरे। उनले दोषीमाथि कारबाहीका लागि माग गरेका छन्।

स्थानीयको प्रदर्शन उग्र बन्दै जाँदा घटनास्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ।  घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित १३ वटा सवारी साधनमा तोडफोड गरेका छन्।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार