• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

रोल्पा जिनाबाङ्गका किसानले एक वर्षमा १० करोडको उत्पादन गर्छन्


साउन ११, रोल्पा । रोल्पाको पश्चिम क्षेत्रमा पर्ने गंगादेव गाउँपालिका वडा नम्बर ३ अर्थात साविक जिनाबाङ्ग गाविस भित्रका किसानहरुले एक वर्षमा कृषिबाट १० करोडभन्दा धेरै आम्दानी भित्र्याउने गरेका छन् । वडा नम्बर ३ का मनिमारे, चामी, बडाढुङ्गा, कुकुरगारे, मंग्रा, झ्याम, लोरिबैनी, नाउली लगाएत गाउँका किसानहरुले वर्षेनी १० करोडभन्दा धेरैको उत्पादन गर्ने गरेका छन् ।

यो वडाका झण्डै ४ सय परिवार कृषि पेसामा संलग्न छन् । यहाँ धेरैजसो आलु, रायोको बीउ, स्याउ उत्पादन हुने गर्दछ । सल्यानसँग सिमाना जोडिएको यो क्षेत्र स्याउको लागी राप्ती अञ्चलमै प्रमुख मानिन्छ ।

३ वटै उत्पादनको लागी भने यो वडा देशभरी नै प्रशिद्ध भएको कृषि सञ्जाल गंगादेवका अध्यक्ष रामबहादुर खत्रीले बताए । यो वडाबाट वर्षेनी सबैभन्दा बढी आलु खेतीबाट झण्डै ६ करोड रुपैयाँ भित्रने गरेको छ ।

गाउँमा बीस रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्दा पनि झण्डै ६ करोडको आलु निकासी हुने अनुमान गरिएको यहाँका किसानहरु बताउँछन् ।

त्यस्तै दोस्रो उत्पादन हो– रायोको बीउ । यो बर्ष मात्रै यो वडाबाट ३० टन रायोको बीउ निर्यात गरिएको छ । जसबाट साढे एक करोड आम्दानी गाउँ भित्रिएको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका किसान लोकमान ओलीले जानकारी दिए । रायो सम्बन्धी अनुभवी किसान पवन ओलीका अनुसार यहाँ उत्पादन भएको रायोको विउ धेरैजसो चिनमा जाने गरेको छ ।

तेस्रो स्थानमा रहेको स्याउ खेतीबाट एक करोडको हाराहारीमा पैसा गाउँ भित्रने गरेको किसानहरुको भनाई छ । यो रकम पनि प्रति बर्ष बढ्दै गएको छ । व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका मनिमारे भीमबहादुर खत्रीले गतवर्ष ८ लाख रुपैयाँको स्याउ बिक्री गरेको र यो वर्ष १६ लाख जतिको स्याउ बिक्री गर्ने लक्ष राखेको बताउछन् ।

यो वर्ष पनि स्याउको सिजन सुरु भैसकेको छ । आफ्नो तन जता भए पनि मन भने दिनराति बारीमै डुलिरहेको उनि बताउछन् । अहिले उनको फार्ममा स्याउका बोट १ हजार २ सय पुगेका छन् ।

बिगत देखिनै खेती तथा उत्पादनलाई बिशेष महत्व दिंदै आएका त्यहाँ किसानहरु अहिले स्मार्ट कृषि गाउँ निर्माणमा जुटेका छन् । त्यहाँ फल्ने अर्गानीक स्याउ, रायो, आलुले कृषकहरुको जिबन स्तरलाई सुधार गर्दै आएको छ ।

प्रदेश नम्बर ५ ले गत आर्थिक बर्षमा ५२ वटा प्रदेश निर्वाचन क्षेत्रमा एक एक वटा कृषि स्मार्ट गाउँ घोषणा गरे सँगै यो क्षेत्र पनि स्मार्ट कृषिमा समावेश भएको छ । जम्मा ९९ घर परिवारका २ सय ३५ महिला र २ सय ५९ पुरुष गरी ४ सय ९४ जना यो कार्यक्रममा समेटिएका छन् ।

कृषि स्मार्ट गाउँअन्तर्गतको ५० लाख र गंगादेव गाउँपालिकाका १२ लाख गरी ६२ लाखको लगानीमा यहाँका किसानहरुले धेरै काम गरिसकेका छन् । जसबाट पानी जम्मा गर्ने पक्की पोखरी, सुधारिएको भकारो, रायोका साग सुकाउने त्रिपाल, हाते टंकी, फोहर ब्यवस्थापनका लागि डस्टबीन, स्याउ काट्न औजार र स्याउन किसानले यही कार्यक्रमबाट पाएका छन् ।

तर यहाँका किसानलाई सडकको भने समस्या छ । दाङबाट सल्यान दमाचौर हुँदै झ्याबाट यी गाउँहरुमा सडक पुग्ने गर्दछ । सडक ग्राभेल तथा कालोपत्रे नहुँदा यहाँका जनताहरु बर्खामा सधै सास्ती भोग्दै आएका छन् ।

अर्को महत्वकांक्षी रुपमा रहेको कपुरकोट–निगालपानी–कोइलाहुँदै झ्यामसम्मको सडक राम्रो सँग बनेपछि यहाँ निकै सहज हुने स्थानीयको अपेक्षा छ । यो सडक अहिले निर्माणधिन अवस्थामा छ ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार