• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

कविता: ‘जय कमरेड’


कुर्सीमा बसेका कमरेडहरू
मधेश विखण्डन गराउन
जनमत सङ्ग्रह गर्दैछन्

कुर्सी बाहिर बसेका कमरेड
कोही समर्थनमा, त कोही विरोधमा मच्चाउदैछन
अनि अर्को कमरेडको संगठन
आन्दोलनको तयारीमा छन्

कतै विष्फोट हुँदैछ
विस्फोट गराउने पनि कमरेड
विष्फोट गराउन हुँदैन भन्ने नि कमरेड

पुच्छर मात्र फरक छ
नाम सबैको कमरेड
दिनभरि भारी बोक्ने
दिनभरि मेसिन चलाउने

दिनभरी खनजोत गर्नेलाई
कमरेडको शब्दकोषले
सामान्ती भन्छ

गरिखाने वर्गलाई
सामान्तवादको मतियार भन्छ
अनि विरोधको स्वर उच्चाल्नेलाई
शायद सुराकी भन्ला भिजिलान्ते भन्ला

तर एउटा कुरामा
कमरेडहरूले छलाङ मारेकै हुन
सडकमा कुर्लने पनि कमरेड
सदनमा डकार्ने पनि कमरेड

मसाल बाल्ने नि कमरेड
शालिक ढाल्ने नि कमरेड

यो कमरेडहरूको राज्यमा
जता हेर्यो कमरेड नै कमरेड
एकथरी कमरेड रामनाम जप्छन्
एकखाले कमरेड जय मसी ओकल्छन

अलिकति छिमेकीको
अलिकति पादरीहरुको
भाषामा ओकल्दै
कोही देश चलाउदैछन
कोही आन्दोलन चर्काउदैछन

यता कमरेड उता कमरेड
देशभरि कमरेड नै कमरेड
देश टुक्राउने कमरेड
खबरदार टुक्राउलास देश भन्ने नी कमरेड

जहाँसुकै कमरेड नि कमरेड
जय कमरेड

लेखक : दामोदर ढकाल (दिपक)

प्रकाशित मिती २०७६ साउन १४ गते

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार