• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मकवानपुरमा दुईवटा गाडी र सिन्धुपाल्चोकमा एक वडा कार्यालय आगजनी, ठाउँठाउँ बम


साउन १५, काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बागमती, नारायणी र जनकपुर अन्चलका २ गरी १५ जिल्ला बन्दको क्रममा ठाउँठाउँमा गाडी आगजनी र बम विस्फोटका घटनाका खबरहरु बिहानैदेखि आएका छन् ।

मकवानपुरका दुईस्थानमा गाडीमा रहेका यात्रुहरुलाई ओरालेर गाडी जलाएको प्रहरीले जनाएको छ ।  बन्दको पूर्व सन्ध्यामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने मन्ज्याङमा निजी कारमा आगजनी भएको बताइएको छ ।

हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको प्रहरीले बताएको छ । कारमा चढेका दुईजनालाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । कार पूर्ण रुपमा जलेको छ ।

यसैगरी मकवानपुरकै मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए । ज्यामिरेमा गुढीरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम टाढैबाट प्रहार गरेका थिए । पेट्रोल वम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उनले बताए ।

हेटौंडाका ठाउँ ठाउँमा संकासपद वस्तु राखिएको छ । बन्दको पूर्व सन्ध्यामा हेटौंडाको चार स्थानमा संकासपद् वस्तु राखिएको छ । बम लेखिएका संकासपद् वस्तु हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकासपद् वस्तु राखिएको प्रहरीले जनाएको छ । संकासपद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । सेनाले संकासपद् वस्तु डिस्पोज गर्दा ठुलो आवाज आएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा पनि आगजनी भएको बताइएको छ । कार्यालयमा ताल्चा काटेर विप्लव कर्याकर्ताले आगो लगाएको प्रहरीको आशंका छ ।

काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको हो ।

बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले विस्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बताए । विस्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

यस्तै प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापा रहेको एनसेलका ३ टावरमा आगजनी भएको छ । मंगलबार साँझ भद्रपुर कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ । राति एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

आफ्ना नेता माइला लामालाई पक्राउ गरेको विरोधमा बुधबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले १५ जिल्ला बन्द  आह्वान गरेको हो । विप्लव नेकपाको संरचण हेर्दा बन्द हुने जिल्लामा बागमती अञ्चलका काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक रहेका छन् ।

त्यस्तै नारायनी ब्यूरोका रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन पनि नेकपाको बन्दमा परेका छन् । उता जनकपुरका रामेछाप र दोलखामा पनि नेकपाले बन्दको आह्वान गरेको छ ।

तस्बिरः मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा कार्यालय आगजनी

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार