• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

चन्द्रपुर नगरपालिकाको वडा कार्यालयमा आगजनी, ककनीमा बम विस्फोट


साउन १५, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्येरातमा आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वाड अध्यक्ष  रवि देबकोटाले जानकारी दिए ।

कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको उनले बताए । घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए ।

सो वाड कार्यालय नजिकै बम जस्तो देखिने बस्तुले स्थानीय त्रसित भएका छन्। उक्त आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ।  साउन १५ गतेको बन्दलाई  लक्षित गरि बम राखेको हुन सक्ने अनुमान छ।

त्यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका छन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तस्बिरः सीता खतिवडा लामा/ बम विस्फोटबाट क्षतिग्रस्त बनेको नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । 

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार