• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा प्राविधिक शिक्षालय आउदा मलाई सांसद जितेभन्दा ठुलो लागेको छ : मन्त्री ज्वाला


साउन १५, सल्यान । कर्णाली प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले धेरै संघर्षपछि सल्यानमा प्रविधिक शिक्षा आएको बताएका छन् । शहिद नेत्रलाल अभागी स्मृती प्राविधिक शिक्षालयको आज शारदा नगरपालिका ४ शाहुटोल लामाडाँडामा भवन शिलन्यास गर्दै उनले सल्यानमा प्रविधिक शिक्षा ल्याउन फलामको चिउरा चपाएजस्तै भएको तर आफुहरुले संघर्ष गरेपछि मात्रै आएको बताए ।

सल्यान प्रदेश सभा (ख) का सांसद समेत रहेका उनले भने, “म मन्त्रालय, सिटिभीटीमा धेरै वर्ष धाए, धेरै कुरा गर्नुपर्यो र अहिले सल्यानमा प्राविधिक शिक्षालय आउँदा मलाई सांसद जितेभन्दा ठुलो लागेको छ ।” यो सल्यानले मात्रै नभएर कर्णाली प्रदेशले गर्व गर्नुपर्ने कुरा भएको उनको तर्क छ ।

परम्परागत शिक्षाले नेपालको शिक्षा प्रणाली खस्कीएको भन्दै उनले अब प्राविधिक शिक्षाले मात्रै प्रणली सुधार गर्ने मन्त्री ज्यालाले बताए । प्राविधिक शिक्षाले रोजगार खोज्ने मात्रै नभएकोले व्यवसायी बनाउन सिकाउने उनको भनाई छ ।

उनले भने, “शिक्षालाई व्यवसायीक सँग जोड्न परम्परागत शिक्षाको विकल्पमा प्राविधिक शिक्षा आएको हो । यसले सबैको चेतना विकास र रोजगारमुलक बनाउछ ।” डिग्री पास गरी बेरोजगार भई बाकसमा प्रमाणपत्र राखेर पुर्पुरोमा हात राख्नुभन्दा व्यवसायी बन्न उनले आग्रह गरे । सल्यानमा कृषिको लागी थुप्रै सम्भावना भएको उनको भनाई छ ।

फरक प्रसंगमा उनले विकासमा राजनीति नगर्न आग्रह गरे । विकास र राजनीति फरक पाटो भएको उनको भनाई छ । प्राविधिक शिक्षालय भित्र्याउन शारदा नगरपालिकाले पनि सहयोग गरेको भन्दै उनले धन्यवाद दिए । भवन निर्माणको लागी कर्णाली प्रदेशले गतवर्षको ४० लाख छुट्याएको भन्दै उनले यो आर्थिक वर्ष धेरै बजेट छुट्याउने र केन्द्र सरकारसँग माग गर्ने बताए ।

कार्यक्रममा शारदा उपप्रमुख सावित्रा बस्नेत, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, सिटिभीटी कर्णाली प्रदेशका मोहोन कार्की लगाएत बोलेका थिए । भगवती कन्ट्रक्सन शानपा २ सँग भ्याट सहित ३३ लाख ६८ हजारमा ६ महिनाभित्र काम सक्नेगरी भवन निर्माणको सम्झौता भएको छ । तर निर्माण कम्पनीले भने २ महिना भित्र काम सक्ने लक्ष राखेको संचालक जिमजियाङ राई (जिम्वा)ले लेकाली अनलाइनलाई बताए ।

इस्टमेट अनुसार भवन २ वटा कोठा गरेको एक तलको हुनेछ । देशभरी जम्मा ४५ वटा प्राविधिक शिक्षालय रहेकोमा कर्णाली प्रदेशमा सल्यान, रुकुम र जुम्लामा रहेका छन् । यो शिक्षालय राप्ती अन्चलमा भने दाङको लमहीमा रहेको छ ।

सल्यानमा अहिले सिभिल इन्जिनियरिङ र भेटनरीका ३ वर्षे कोर्ष संचालन भएको छ भने आगामी वर्ष कृषि जेटिए ल्याउन पहल गर्ने मन्त्री ज्वालाले बताए । शिक्षालयका प्रमुख कृष्ण बिर नेपालीका अनुसार अहिले सल्यानमा ४० जना भेटनरीमा र ४८ जना सिभिलमा विद्यार्थी छन् ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार