• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मौसामपिच्छे रंग बदल्ने त्यो कुपिण्डे ताल (फोटो फिचर)


साउन १८, सल्यान । सल्यान साच्चिकै प्रकृतीले बरदान दिएको एक उत्कृष्ट ठाँउ हो । जसमध्ये जिल्लाकै एक महत्वपुर्ण पर्यटकीय स्थल कुपिण्डे ताललाई मानिन्छ । जिल्लाको सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने कुपिन्डे ताल निकै मनोरम अनि आकर्षक छ ।

चारैतिर पहाडले घेरिएको र बिचमा नीलो पानीले भरि भराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बिचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जिल्लाकै एक उत्कृष्ट पर्यटकीय स्थल जसलाई कर्णाली प्रदेशमा मिनी रारा भनेर पनि चिनिन्छ ।

कुपिण्डे तालले वर्षमा ३ वटा रङ्ग बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा मौसामपिच्चे यो तालले परापुर्वकाल देखि रङ्ग बदल्ने गरेको विश्वास गरिन्छ । पानी सधैं सफा रहने यो तालमा वर्षामा वरिपरिको बाढी पस्दा पनि पानी कहिल्यै धमिलो हुँदैन ।

वरिपरि घना जंगल भए पनि यसमा एउटा पनि पात खसेको नभेटिने स्थानीयहरु बताउछन् । पात खस्नासाथ आफैं किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ । यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान हो ।

झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिन्छ यो तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर, वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जाने गरेको कुपिन्डेताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले बताए ।

यद्यपी गत वर्ष तालको गहिराई नापेको सेफोक्सुन्डो मिडिया प्रालिले तालको बीचमा एउटा मुहान रहेको तथा पश्चिमतर्फबाट भित्रभित्रै पानी बग्ने गरेको उल्लेख गरेको छ । उसले कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ १ हजार २ सय मिटर र चौडाइ  ३ सय ५० मिटर रहेको उल्लेख गरेको छ । ताल ३० हेक्टर क्षेत्रफलमा फैलिए छ ।

किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजिमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरासहुँदै एकजना वृद्धको घरमा उनी पुगेछन् । बासका लागि आफु आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे ।

वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।

यो ताल वरिपरि हरियाली वन जंगल, जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइने गर्दछ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पुर्वी उत्तरी भागमा रहेको कुपिण्डे पुग्न छिन्चु, मेलकुना हुँदै सल्यानको बालुवासंग्रही आएर खलंगा आउने पुर्वी भागको उकालो सडक हिडेपछि पुगिन्छ । साविकको राप्ती अन्चलको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट खलंगा, जयतपानी हुँदै पनि यो ताल पुग्न सकिन्छ ।

वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन । यहाँ शनिबारको दिन पर्यटकहरुको विषेश उपस्थिती हुन्छ । यहाँ देशका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गर्दछन् ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार