• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बालविवाहको विकराल, १ वर्षमा साढे ४ सय बालिकाले जन्माए बच्चा


मिना बुढाथोकी/ साउन २०, सल्यान । साउन महिनामा शारदा नगरपालिका –१ निवासी १५वर्षीया किशोरी लक्ष्मी थापाले जिल्ला अस्पताल सल्यानमा आएर सुरक्षित सुत्केरी सेवा लिइन् । १४ वर्षको उमेरमा विवाह भएकी उनले एक वर्षपछि साउन ८ गते जिल्ला अस्पताल सल्यानमा छोरीलाइ जन्म दिइन् ।

यस्तै जिल्ला अस्पताल सल्यानमा केही समय अघि मात्र छोरी जन्माएकी शारदा नगरपालिकाकै वडा नम्बर १० निवासी १५ वर्षीया धना कवरलाइ पनि आप्mनो बच्चा स्याहार गर्न असाध्यै धौ धौ परेको उनको पिडा रहेको छ । कम उमेरमा बिहे गर्दा पढाइबाट पनि वन्चित हुनु परेको र अहिले छोरी स्याहार गर्न समेत समस्या भएको उनको दुखेसो छ ।

यि दुइ त प्रतिनिधिमुलक उदाहरण मात्रै हुन् । बिहे गर्ने उमेरनै नपुगि बच्चा जन्माउने उनिमात्रै हैन उनिजस्तै अरु पनि किशोरीहरु छन् ।सल्यानमा एक वर्षको अवधिमा साढे चारसय बढी बालिकाले बच्चा जन्माएका छन् ।

जिल्लामा वाल विवाह बढेसगै किशोरी अवस्थामा नै आमा हुनेहरुको पनि लर्को देखिएको छ । जिल्लामा बाल विवाह गर्नेहरुको यकिन तथ्याँक नभएपनि जिल्ला अस्पताल सल्यानमा प्रसुति सेवा लिन आउनेहरुको संख्या हेर्दा यस्तो देखिएको हो ।

जिल्ला अस्पतालको रेकर्ड फाइलमा एक वर्षको अवधिमा ४ सय ४३ जना किशोरीले सुरक्षित प्रसुति सेवा लिएको देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ को साउन देखी असार सम्म जम्मा एक हजार तिन सय १२ महिला सुत्केरी हुन आएकोमा चार सय ४३ किशोरी २० वर्ष मुनिका रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

विगत लामो समयदेखी जिल्ला अस्पताल सल्यानमा प्रसुति सेवा तिर कार्यरत स्टाफ नर्स कोपिला पुनले दिएको जानकारी अनुसार साउन महिनामा एक सय ४७ जना महिला मध्ये ६० जना किशोरी, भदौमा ९३ जना मध्ये ३३, असोजमा एक सय १५ मध्ये ४६, कात्तिकमा ८५ मध्ये ३० जना मंसिरमा ७२ मध्ये १८ जना र पुस महिनामा ९४ मध्ये,३३ जना किशोरीले सेवा लिएको उनले बताइन् ।

यस्तै माघमा ८३ मध्ये २४जना,फागुनमा एक सय ९ मध्ये ३० जना, चैतमा एक ३० मध्ये ४५,बैशाखमा एक सय २७ मा ४६ ,जेठमा एक सय १४ मध्ये ३५ र असारमा एक सय ४३ मध्ये ४३ जना किशोरीले प्रसुति सेवा लिएका छन् ।

उमेरमा आमा बन्दा आमा बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिने गरेको बताइन । ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुनिने, दिर्घकालमा पाठेघर खस्ने, पिसाव चुहिने समस्या हुन सक्छ उनले भनिन,कम उमेरमा जन्मिएको बच्चाको तौल कम हुने गरेको पाइएको छ ।’

यहाँको सामाजिक परिवेश हेर्दा कम उमेरमै प्रेम गरेर भागी विवाह गर्ने हरुको संख्या बढी देखिने गरेको छ । यस्तै कृषिमा आत्मनिर्भर रहेका यहाँका स्थानीय घरमा काम गर्न सहयोग मिल्ने आशाले पनि छोराले सानै उमेरमा विहे गरेपनि ठुलो रुपमा नलिने हुँदा समस्या आएको सरोकारवाला बताउँछन् ।

जिल्लामा बाल विवाह गर्नेको संख्या दिनानुदिन बढीनै रहेको छ । कर्णाली प्रदेशमा सबै भन्दा बढी सल्यानमा बाल विवाह गरेको एक तथ्याँकले देखाएको छ । तर स्थानीय सरकारले भने बाल विवाह न्युनिकरणका लागी खासै ठोस योजना बनाएको देखिंदैन् ।

शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले बाल विवाह बढी रहेको सन्दर्भमा अब नगर भित्रका प्रतेक माविमा बाल विवाह न्युनिकरणका लगाी किशोरकिशोरी शिक्षा लिएर जाने बताइन् । यस्तै समुदाय स्तरमा पनि अभिभावकहरु संग अन्तरक्रिया गर्ने उनले जानकारी दिइन । यहाँका अन्य स्थानीय तहले पनि बाल विवाह न्युनिकरणका लागी विशेष योजना बनाएको देखिदैन् ।

बाल विवाह न्युनिकरण गर्नका लागी भइ रहेका बाल विवाहलाइ रोक्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने अधिकारकर्मीको भनाइ छ । स्थानीय सरकारले बालबालिकाका लागी स्पष्ट निति बनाउने र यस्ता घटनामा संलग्नलाइ कानुनको दायरा सम्म पुर्याउन सकेमात्र यस्ता घटना न्युनिकरण गर्न सकिने मानवअधिकारकर्मी रामचन्द्र रेग्मीले बताए ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतनाको कमी र सामाजिक सञ्जालको विकृति,गरिबि,देखासिकी लगायतका कारणले पनि बाल विवाह हुने गरेको शारदा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेशम बहादुर बुढाथोकीले बताए ।

जिल्लामा सानै उमेरमा बाल विवाह गरेर पछि विभिन्न समस्या भोग्दै आएपनि बाल विवाहबारे प्रहरीमा किन उजुरी आउँदैन त ? भन्ने प्रश्नको जवाफमा उनले यस्ता घटनाबारे कसैले प्रहरीमा जानकारी गराएमा समाजमा उपेक्षित हुने डरले पनि घटनाहरु बाहिर आउन नसकेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले पनि जिल्लामा बाल विवाह भइ रहँदा समेत बाल विवाहका उजुरीहरु नआउने भएकाले न्युनिकरण गर्न समस्या रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बाल विवाह भयावह रुपमा भइ रहेपनि प्रहरीसम्म कमै मात्रामा उजुरी आउने गरेको बताए ।

उनले पहिलो दायित्व भनेको स्थानीय सरकारको हुने भएकाले बाल विवाह न्युनिकरणका लागी चेतना मुलक कार्यक्रम गर्न सबै सरोकार वालाहरुसंग सहकार्य गरेर स्थानीय स्तरमा चेतना फैलाउन जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार