• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाको विद्यार्थी संगठनद्वारा दृष्टिविहीन बालबालिकालाई सहयोग


साउन २३, सल्यान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले दृष्टिविहीन बालबालिकाहरुलाई इमरजेन्सी लाइट र ब्रेन पेपर सहयोग गरेको छ ।

शानपा १ सितलपाटीमा रहेको शिवजन माध्यामिक विद्यालय दृष्टिविहीन छात्राबासमा बस्ने १८ जना विद्यार्थीको लागी उक्त संगठनले आज करिब १० हजार मुल्य बराबरको लाइट र ब्रेन पेपर हस्तान्तरण गरेको हो । यहाँ जिल्लाका विभिन्न ठाउँबाट आएका १७ जना दृष्टिविहीन र १ जना अपांग बालबालिका बस्ने र पढ्ने गर्दछन् ।

सहयोग सामाग्री बुझ्दै छात्राबासका शिक्षक राजेश अर्यालले सरकारले प्रतिबन्ध लगाएपनि चुनौतीका बाबजुद दृष्टिविहीनलाई सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले कहिलेकाँही केहि संघ संगठन तथा संस्थाहरुले सामान्य सहयोग गरेपनि सरकारी तवरबाट अहिलेसम्म कुनै सहयोग नभएको दुखेसो गरे । सरकारले प्रति विद्यार्थी मासिक ४ हजार दिदै आएको रकमबाट गुजरा गर्नुपरेको उनले बताए ।

उनले भने, ‘यहाँ आवासमा थुप्रै समस्या छ, सुरक्षित बस्ने कोठा छैन्, गाईवस्तु बस्ने जस्तो कोठामा विद्यार्थी सुत्नुपर्छ । झ्याल ढोका जिर्ण अवस्थाका छन् । सरकारले यतातिर वास्तै गर्दैन् ।’ भवन मर्मत र अन्य व्यवस्थापनको लागी विभिन्न सरकारी निकाय सँग धेरैपटक अनुरोध गरेपनि कतैबाट सुनुवाई नभएको उनको दुखेसो छ ।

कम्युनिस्ट विद्यार्थी अभियान २ अन्तरगत मार्फत दृष्टिविहीन बालबालिकालाई सहयोग गरिएको अखिल क्रान्तिकारी सल्यानले जनाएको छ । अभियानलाई निरन्तरता दिन अब विभिन्न स्कुलहरुमा विभिन्न प्रजातिका विरुवाहरु सहयोग गर्ने सो संगठनको भनाई छ ।

 

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार