• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका तत्कालिन एलडिओ सहित ११ जनालाई भ्रष्टाचारी मुद्दा, एकजनाको मृ*त्यु !


साउन २३, सल्यान । जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल सहित ११ जना विरुद्व विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

साविक काप्रेचौर गा.वि.स. वडा नं. ७ घुइयावारी स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दर्ता गरेको हो । उनिहरुले झुठ्ठा बिल भर्पाई र कागजात पेश गरी भुक्तानी गरेको अख्तियारको दाबी छ ।

विद्यालयको भवन निर्माणका लागि गठित उपभोक्ता समितिले जिल्ला विकास समितिको कार्यालय र काप्रेचौर गा.वि.स.बाट प्राप्त रकम भवन निर्माण नगरी हिनामिना गरेको भन्दै उनिहरु विरुद्व अख्तियारमा उजुरी परेको थियो । त्यही उजुरीलाई अनुसन्धान गर्दा उनिहरुले रकम हिनामिना गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

जिल्ला विकास समितीबाट ५ लाख २२ हजार ५ सय र काप्रेचौर गा.वि.स.बाट ४ लाख रुपैया हिनामिना भएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर हुनेमा तत्कालीन एलडिओ पोखरेल सहित जिल्ला विकास समिती सल्यानका तत्कालिन लेखा अधिकृत राम कुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी., काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क.रहेका छन् ।

एकको मृत्यु

मुद्दा दायर भएका मध्य १० जनालाई बिगो कायम गरी ऐनको विभिन्न दफा बमोजिम सजायको लागी माग गरिएको छ भने इन्जिनियर गज्जुबाबु श्रेष्ठको निधन भइसकेकोले निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) अनुसार विगो असुल गर्न माग गरिएको छ ।

एउटै व्यक्तीलाई दुईवटा मुद्दा दायर

यसैबिच साविक काप्रेचौर गा.वि.स.का तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री)लाई अर्को भ्रष्टाचारी मुद्दा पनि दायर भएको छ ।

काप्रेचौर गा.वि.स. मा लक्षित वर्गको कार्यक्रम अन्तर्गत बालबालिकाको कार्यक्रमको लागि छुट्याईएको रकम एक लाख ३ हजार रकम हिनामिना गरेको भन्दै उनी विरुद्व आयोगले बिहीबार नै मुद्दा दायर गरेको हो । सो भष्टाचारमा उनिसँगै बाल सरक्षण तथा सम्बर्धन उप समितिका संयोजक खगेन्द्र बस्याल सार्की पनि रहेका छन् ।

 

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार