• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

म अर्धपागल भएर नै जनयुद्ध गरेको हुँ तर कसैको हत्या गरेको छैन : प्रचण्ड


साउन २४, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हिंसा नगरेको दाबी गरेका छन्। शुक्रबार नेकपा नेता दीनानाथ शर्माको ‘झरीका सौन्दर्य’ निबन्धसङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले आफूले कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको बताए।

उनले भने, ‘परिस्थितिले मैले विद्रोहको नेतृत्व गरे पनि र हिंसात्मक सङ्घर्षको अगुवाइ गरेपनि मैले एकजनाको पनि हत्या गरेको छैन्, तर हिंसात्मक विद्रोहको जिम्मेवारी मैले लिनुपर्छ र लिन्छु, मेरो नेतृत्वमा भएको १० वर्षे जनयुद्धले देशमा ठूलो परिवर्तन आयो ।’

उनले आफू अर्धपागल भएर नै विद्रोहमा लागेको पनि बताए। ‘मैले युवा अवस्थामा धेरै साहित्यिक पुस्तक पढेँ। विकृतिकै कारण विद्रोही चेत आयो’, उनले भने। प्रचण्डले आफू विद्रोहमा अर्धपागल भएर लाग्नुमा साहित्यको देन भएको बताए।

प्रचण्डले आफू बाहिर देखिने भन्दा फरक र भावुक रहेको बताए। ‘म भावुक छु, सेन्टिमेन्टल पनि छु। अरुले देखेजस्तो छैन’, उनले भने म बडा सरल व्यक्ति हुँ।’

उनले अघि भने, ‘मलाई आजभोलि कयौंले हिंस्रक मान्छे, अपराधी भने जस्तो गर्दा अनौठो लाग्छ ।’ आफू सानो छँदा कसैको झगडा भयो भने ‘यसले सत्य भन्छ, यो देउताको गाई हो’ भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘म त्यस्तो खालको पात्र हो । तर परिस्थितिले मलाई विद्रोहको नेतृत्व गर्ने ठाउँमा पुर्‍यायो । नेतृत्व गरेकै पनि हो ।’

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार